काठमाडौं । होन्डाको सर्वाधिक बिक्री हुने डियो स्कुटरले दुई फस्ट ह्यान्ड मार्केटको मात्र हैन, सेकेन्ड ह्यान्ड मार्केटको समेत ठूलो हिस्सा ओगटेको छ । झन्डै, १२ वर्ष अगाडि नेपाली बजारमा भित्रिएको डियोले होन्डाको समग्र सेल्सको करिब ३० प्रतिशत हिस्सा ओगेटेको छ ।
त्यस्तै, सेकेन्ड ह्यान्ड मार्केटको झन्डै ५५ प्रतिशत हिस्सा डियोले समेट्ने गर्छ । यसको स्थापित बजार तथा मागलाई मध्यनजर गर्दै होेन्डाले केही महिना अगाडिमात्रै डियोको नयाँ संस्करण सार्वजनिक गरेको थियो ।
स्याकार ट्रेडिङले नेपाली बजारमा दुई भेरियन्टमा बिक्री गर्दै आएको डियो एसटीडीको मूल्य १ लाख ९७ हजार ९०० र डियो डिलक्सको मूल्य २ लाख ३ हजार ९०० रहेको छ ।
नयाँ डियो डिलक्सले राम्रो बजार पाइरहेको कम्पनीले जानकारी दिएको छ । सेकेन्ड ह्यान्ड मार्केटमा पनि डियोको दबदबा उस्तै रहेको छ । आखिर किन यति रुचाइन्छ त डियो स्कुटर ? यसका केही खास कारण यस्ता रहेका छन् ।
बलियाे ब्राण्ड
डियो स्कुटर बिलयाे ब्राण्ड हाेन्डाकाे गुणस्तरिय पार्टपुर्जा, लुक्स तथा डिजाइनको कारण सधै चर्चामा रहेको हो । हरेक मानिसको दिमागमा स्कुटर भन्ने वित्तिकै ‘डियो’ भन्ने सोच बसाल्न सफल भएकै कारण यसले एकछत्र राज गर्न सफल भएको बताउँछन्, रिकन्डीसन हाउस संचालकहरु ।
स्टाइलिस्ट लुक्स, कर्फटेबल सिट, बलियो बडीका कारण डियो सफल भएको मानिन्छ । यो स्कुटर विशेषगरि कलेज अध्ययनरत विद्यार्थीको रोजाइमा पर्ने गरेको बिक्रेताहरुको बुझाई छ । फेन्सी लुक्स तथा उत्कृष्ट माइलेज यसको अर्को सकारात्मक पक्ष हो ।
पुनः बिक्री गर्दा राम्रो रकम आउनु
रिकन्डीसनमा बढि खोजिने तथा धेरै रुचाइने भएकाले डियोलाई पुनः बेच्नुपर्दा निकै राम्रो रकम आउने गरेको छ । रिकन्डीसन बजारमा मूल्य, पावर, टिकाउपनाका कारण डियो बढि खोजिन्छ ।
अन्य स्कुटरको तुलनामा सस्तो तथा भरपर्दाे मानिने डियोका निकै पुराना मोडल समेत रिकन्डीसन बजारमा २५ हजारदेखि खरिद गर्न सकिने बिक्रेताहरु बताउँछन् । अन्य स्कुटरको तुलनामा डियोको रिकन्डीसन बजारमा ३० प्रतिशतसम्म बढी मूल्य आउने बताइन्छ ।
पार्टपुर्जाको उपलब्धता
डियो किन्ने ग्राहकले मर्मत संभारको क्रममा पार्टपुर्जा पाइदैन की भन्ने चिन्दा राखिरहनु पर्दैन । यसको पार्टपुर्जा कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा मात्रै नभई अन्य सर्भिस सेन्टरमा पनि सहजै र सरल मूल्यमा उपलब्ध हुने गर्छ ।
साथै, प्रतिस्पर्धी स्कुटरको तुलनामा कम समस्या आउने डियोको मर्मत सम्भार शुल्कसमेत कम रहेको कम्पनीको दाबी छ ।
घट्दैन पिकअप र माइलेज
पटक पटक सर्भिसिङ पश्चात् स्कुटर तथा बाइकको पिकअप घट्ने गर्छ । रिकन्डीसन बजारमा बिक्री भैरहेको डियोको पिकअप फस्ट ह्यान्ड मोडलको तुलनामा थोरै मात्रै कम हुने बिक्रेताहरुको बुझाई छ ।
माइलेजमा पनि खासै फरक नआउने उनीहरु बताउँछन् । नयाँ डियोले प्रतिलिटर ४० देखि ४५ किलोमिटर माइलेज दिनेगर्छ । सेकेन्ड ह्यान्ड मोडलले पनि त्यति नै माइलेज दिने बिक्रेता कम्पनीको दाबी छ ।
फाइनान्स सुविधा
फस्ट ह्यान्ड मार्केटमा डियो बढि बिक्नुको मुख्य कारणमध्ये एक हो, कम्पनीको फाइनान्स सुविधा । होन्डाले नयाँ मोडलमा उपलब्ध गराएको ९.९९ प्रतिशत ब्याजदरको फाइनान्स सुविधाले धेरैको ध्यान तान्ने गरेको छ ।
कम्पनीले न्यूनतम ३० प्रतिशतदेखि ६० प्रतिशत डाउनपेमेन्टमा एकदेखि २ वर्षे फाइनान्स सुविधा उपलब्ध गराउँदै आएको छ । कतिपय रिकन्डीशन कम्पनीले समेत फाइनान्स सुविधा प्रदान गर्दै आएका छन् ।
इन्जिन
यसमा उपलब्ध १०९.१९ सीसी सिङ्गल सिलिन्डर एयरकुल्ड इन्जिनले ७००० आरपीएममा ८ बीएच पावर तथा ५५०० आरपीएममा ८.९१ एनएम टर्क पावर उत्पादन गर्छ । यसको इन्जिनमा भी–मेटिक सीभीटी गियरबक्स जडान गरिएको छ भने, यो स्कुटर भारतीय प्रदुषण मापदन्ड बीएस फोरमा आधारित रहेको छ ।
विशेषता
फिचर लोडेड यो स्कुटरमा एलईडी हेडलाइट जडान रहेको छ भने, मेटसेड, मार्शल ग्रीन मेटेलिक तथा एक्सिस–ग्रे मेटेलिक कलर दिइएको छ । यी कलरले स्कुटरलाई निकै आर्कषक बनाएको छ ।
यसमा डिजिटल स्पीड–मिटर र ट्रिपमिटरसमेत जडान गरिएको छ । फ्रन्ट एन्ड रियर क्यारी हुक, लो–फ्यूल वार्निङ ल्याम्प, फोरइन–वानलक, सिट ओपनर स्वीच, अल डिजिटल कन्सोल तथा मोबाइल चार्जिङजस्ता फिचर उपलब्ध रहेको छ ।


