सन् २०१९ महिन्द्रा टु ह्वीलर्सको लागि उत्साहजनाक हुन सकेन भने कम्पनीले यो वर्ष केवल एउटा मोडलमा एबीएस फिचर थप्ने बाहेक कुनै काम गरेन । अब फाइनान्सियल एक्शप्रेसको रिपोर्ट अनुसार कम्पनीले आफ्ना सबै प्रडक्टलाई इलेक्ट्रीक मोटरमा ल्याउने भएको छ ।
कम्पनीले भारतमा हुने २०२० अटो एक्स्पोमा एउटा मोडलको इलेक्ट्रीक प्रोटोटाइप ल्याउने तयारी गरिरहेको दाबी फाइनान्सियल एक्शप्रेसले गरेको छ ।
कम्पनी स्रोतको भनाई भन्दै मिडियाले लेखेको छ ‘मोजो ३०० लाई कम्पनीले नयाँ इन्जिनमा अपग्रेड गर्नेछ भने एउटा स्कुटरलाई इलेक्ट्रीकमा ल्याउने छ ।’ कम्पनीले अहिले बिक्री गरिरहेको गस्टो स्कुटर इलेक्ट्रीकमा ल्याउने अनुमान गरिएको छ ।
महिन्द्राले आफ्नो टु ह्वीलर्स व्यवसायलाई विस्तार गर्न जावा र प्यूजो टु ह्वीलर्स खरिद गरेर काम गरिरहेको छ । कम्पनीले बनाउने महिन्द्रा स्कुटरमा प्यूजोको टेक्नोलोजी प्रयोग हुने अनुमान गरिएको छ ।
नेपाली बजारमा पनि महिन्द्राका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण हुँदै आएको छ । महिन्द्रा टु ह्वीलर्सका लागि नेपालको आधिकारीक बिक्रेता अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइन्कले यसको बिक्री वितरण गर्दै आएको छ ।


