सेल्टोस र क्रेटालाई टक्कर दिने मूल्यमा एलिभेट, केही दिनमै काठमाडौं आइपुग्ने

काठमाडौं । होन्डा एलिभेट एसयूभी भारतमा बिक्री सुरु भएको छ । कम्पनीले यसअघि नै एलिभेटको ग्लोवल प्रिमियर गरेको भएपनि बिक्री भने आजबाट सुरु गरेको हो ।

विशेषगरी भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस र सुजुकी ग्राण्ड भिटाराको सेग्मेन्टमा आएको एलिभेट मूल्यका हिसावले पनि यी मोडलसँग कडा प्रतिस्पर्धा गर्न सक्नेगरी आएको छ । भारतमा यसको मूल्य ११ लाखदेखि १६ लाखसम्म कायम गरिएको छ ।

कम्पनीले एसभी, भी, भीएक्स र जेडएक्स भेरियन्टमा म्यानुअल तथा अटोमेटीक गियरबक्समा यसलाई ल्याएको छ । यसको टप भेरियन्ट जेडएक्स अटोमेटीकको मूल्य १६ लाख रुपैयाँ छ । जुन नेपाल आउँदा ८० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

होन्डा सधैँ प्रिमियम मूल्य राखेर गाडी बिक्री गर्ने ब्राण्ड हो । बढ्दो प्रतिस्पर्धाको कारण कम्पनीले राम्रो मूल्यमा एलिभेट बाहिर ल्याएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

स्याकार ट्रेडिङले एलिभेट नेपाल ल्याइसकेको छ । बिरगंज भन्सार आइपुगेको एलिभेट केही दिनमा नै काठमाडौं आइपुग्ने छ । नेपालमा पनि होन्डाको मूल्य प्रिमियम नै हुने गर्छ । त्यसैले नयाँ एलिभेटको मूल्ल धेरै हुन्छ कि भन्ने तपाईलाई लागेको छ भने यस पटक फरक अनुभव गर्न पाउनु हुनेछ ।

होन्डा स्रोतको अनुसार एलिभेट ५५ लाखदेखि ८० लाख रुपैयाँ भित्रै नेपालमा आउने सम्भावना रहेको छ । यदि यस्तो भएको खण्डमा सेल्टोस र क्रेटाको हाराहारी मूल्यमा एलिभेट आउने छ । एकिन मूल्यको लागि अझै केही दिन कुर्नु पर्ने हुन्छ ।

यस्तो छ एलिभेट

होन्डा एलिभेटको लम्बाई ४३१२ एमएम, चौडाई १७९० एमएम, उचाई १६५० एमएमको रहेको छ । यसमा २६५० एमएमको ह्वीलबेस पाउन सकिन्छ । टप भेरियन्टमा १७ इन्चको डायमण्ड कट अलोय ह्वील रहेको एलिभेटमा ग्राउण्ड क्लियरेन्स भने सेग्मेक्ट कै सबैभन्दा धेरै २२० एमएम रहेको छ ।

होन्डा एलिभेटको एक्टेरियर होन्डाको एसिया प्यासेफिक आर एण्ड डी सेन्टर थाइल्याण्डमा विकास भएको हो । यसको फ्रन्ट लुक्स निकै बल्की देखिएको छ । यसमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट्स पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ ।

‘प्रोगेसिभ एण्ड प्रोटेक्टीभ’ कन्सेप्टमा आधारित एलिभेटको इन्टेरियरमा ठूलो साइजको हेडरुम, लेग तथा नि रुम दिइएको छ । यसको डोर र ड्यासबोर्डमा सफ्ट टच मेटेरियलको प्रयोग गरिएको छ ।

एसयूभीको अपहोलिष्टीकमा ब्राउन कलरको लेदरेट प्रयोग भएको छ । यसमा ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाइ डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ ।

सुरक्षाको लागि होन्डा सेन्सिङ एडास फिचर रहेको छ । जस अन्तर्गत फ्रन्ट कोलीजन वार्निङ, ब्रेक असिस्ट, एडप्टीभ क्रुज कन्ट्रोल, लेन डिपाचर वार्निङ, लेन किप असिस्ट जस्ता फिचर छन् ।

यसका अलावा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामरा, आइएसओ फिक्स रियर सिटको साथमा ६ वटा एयरब्याग छन् ।

होन्डा एलिभेटमा १.५ लिटर क्षमताको नेचुरल एस्पीरेटेड, फोर सिलिण्डर, आइभीटेक पेट्रोल इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर तथा १४५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

एलिभेटमा सिभीटी अटोमेटिक र ६ स्पीड म्यानुअल गियरबक्स रहने छ । होन्डाले सन् २०२६ सम्ममा एलिभेटलाई हाइब्रिड र प्योर इलेक्ट्रीक भर्सनमा समेत ल्याउने घोषणा गरिसकेको छ ।

 


Back_to_top