काठमाडौं । होन्डाले आगामी फेब्रुअरी १६ मा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले केहि समयअघि ल्याएको क्लासिक मोटरसाइकल हाइनेस सिबी ३५० को क्याफे रेसर मोडल सार्वजनिक गर्ने भएको हो ।
भारतमा हाइनेस सिबी ३५० को सफलताबाट हौसिएको होन्डाले नयाँ क्याफे रेसर मोडल ल्याउन लागेको हो । कम्पनीले नयाँ मोटरसाइकलको तस्विर सावजनिक गर्दै फेब्रुअरी १६ मा सार्वजनिक हुने जानकारी दिएको छ ।
नयाँ मोटरसाइकलमा अधिकांश फिचर सिबी ३५० बाट लिइने अनुमान गरिएको छ । नयाँ मोटरसाइकलमा टेलिस्कोपिक फ्रन्ट फर्क र पछाडि हाइड्रोलिक ट्वीन शक दिने अनुमान गरिएको छ । नयाँ मोटरसाइकलको फुटपेज र ह्याण्डलबार निकै आक्रमक हुने अनुमान गरिएको छ ।

एलइडी हेडल्याम्प, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टर्न लाइट र टेल लाइट जस्ता फिचर नयाँ क्याफे रेसर मोटरसाइकलमा उपलब्ध रहने छ । सिंगल पिस सिट, भेन्टेज कौल, सिल्भर कलर फ्रन्ट र रियर फेन्डर जस्ता विशेषताले नयाँ मोटरसाइकल निकै आकर्षक हुने अनुमान गर्न सकिन्छ ।
कम्पनीले यसमा ३४८ सीसी क्षमताको इन्जिन प्रदान गर्ने छ । उक्त इन्जिनले २१ बीएच पावर र ३० एनएम टर्क प्रदान गर्ने छ । सम्भवत यसमा ट्रायक्सन कन्ट्रोल सिस्टम समावेस हुनेछ ।
नेपालमा पनि होन्डा हाइनेस सिबी ३५० अबको केहि दिनपछि सार्वजनिक गर्ने तयारी भइरहेको नेपालको लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले जानकारी दिएको छ ।


