काठमाडौं । तीन वर्षदेखि नेपाली बजारमा बिक्री गर्दै आएको हर्नेट २.० को मूल्य घटाएको छ । कम्पनीले हर्नेट २.० को मूल्य ३४ हजार रुपैयाँले घटाएको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङ नयाँ मूल्यसूची सार्वजनिक गर्दै हर्नेट२.० को मूल्य घटाएको हो ।
कम्पनीले २०७८ कार्तिकमा पहिलो पटक नेपाली बजारमा बिक्री सुरू गर्दा ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको यो मोटरसाइकलको मूल्य अहिले घटाएर ४ लाख ६४ हजार ९०० रुपैयाँ कायम गरेको हो ।

होन्डा हर्नेट आधुनिक फिचर लोडेड मोटरसाइकल हो । यसमा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।
यसमा डायमण्ड फ्रेमको प्रयोग गरिएको छ भने, यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । १७ इन्चको अलोय ह्वील, दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेकको साथै यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
कम्पनीले यसमा अल डिजिटल कन्सोल दिएको छ । यसमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा पाउन सकिन्छ ।

