तीन नयाँ मोडलसहित आक्रमक बजार विस्तारको रणनीतिमा होन्डा

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङको लागि सन् २०२० विर्सनलायक वर्ष बन्यो । नेपालमा नै सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी साधन विक्रेताबाट सन् २०२० को विक्री आँकडा अनुसार एकै पटक होन्डा चौथो स्थानमा पुग्यो ।

होन्डाले बजारमा मोटरसाइकल र स्कुटरको लगभग उत्तिनै संख्यामा विक्री गर्दै आएकोमा लकडाउन सकिएसँगै स्टक सकिएपछि होन्डाले करिब ५ महिना नयाँ मोटरसाइकल ल्याउन नसक्दा उसको लागि २०२० निकै कठिन वर्ष बन्न पुग्यो ।

‘भारतबाट नै सप्लाईमा समस्या हुँदा मोटरसाइकल तथा स्कुटर आयातमा कमी आएको कारण होन्डा केहि पछाडि परेको हो । सन् २०२१ मा पुनः पहिलेकै स्थानमा होन्डा पुग्ने छ’, स्याकार ट्रेडिङ स्रोतको दाबी छ ।

कम्पनीले आफ्ना सबै मोडल २०२१ विक्री गर्ने तयारी सुरु गरेको छ । कम्पनीले सिबी साइन, यूनिर्कन, डियो, ग्राजिया जस्ता धेरै विक्री हुने मोडलहरुको नयाँ बुकिङ लिइरहेको छ । साथै, कम्पनीले ३ नयाँ मोडल बजारमा ल्याउने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।

होन्डाले ग्राजिया स्कुटरको फेसलिफ्ट, हाइनेस सिबी ३५० र हर्नेट २.० जस्ता नयाँ मोडल बजारमा ल्याउन लागेको हो । यी मोटरसाइकल बीएस ६, एफआई इन्जिनसहित बजारमा आउने छन् । यी तीन नयाँ मोडलसँग अहिले विक्री वितरण भइरहेका सबै मोटरसाइकल तथा स्कुटरका २०२१ मोडल आयत सुरु भएसँगै पुनः होन्डा पहिलेकै अवस्थामा फर्कने कम्पनीको दाबी छ ।

होन्डाले ल्याउन लागेको हाइनेस सिबी ३५० क्लासिक डिजाइनमा तयार भएको मोटरसाइकल हो । रोयल इन्फिल्ड क्लासिक ३५० र जावाका उत्पादनसँग सिधा प्रतिस्पर्धा गर्ने सिबी ३५० नेपालमा निकै प्रतिक्षा गरिएको मोडल भइसकेको छ ।

कम्पनीले ल्याउने हर्नेट २.० ले २०० सीसी सेग्मेन्टमा होन्डाको पहिलो र वलियो उपस्थिति बनाउने अनुमान स्याकार ट्रेडिङले गरेको छ । आधुनिक फिचरले भरिएको हर्नेट २.० भारतमा सार्वजनिक भएको केहि महिनामा नै सफल मोडलको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । यस्तोमा नेपालमा पनि २०० सीसी सेग्मेन्टमा हर्नेट २.० ले राम्रो व्यापर गर्ने अनुमान लगाउन सकिन्छ ।

स्याकार ट्रेडिङले ल्याउने अर्को मोडल प्रिमियम स्कुटर ग्राजिया फेसलिफ्ट हो । भारतमा सन् २०२० मा पहिलो फेसलिफ्ट आएको ग्राजियाको स्पोर्टस् मोडलसमेत सार्वजनिक भइसकेको छ । विशेषत नेपालमा टीभीएस एनटर्कसँग सिधा प्रतिस्पर्धा हुने यो स्कुटरको स्पोर्टस् मोडल नेपाल आउने हो भने तत्कालै यी दुई बीच कडा टक्कर हुने छ ।

होन्डाले आफ्नो गुमेको बजार हिस्सा बढाउन यी तीन मोडललाई प्राथमिकताका साथ आयत गर्ने योजना बनाएको छ । यी मोडलले होन्डालाई पुनः बजारको लिडर बनाउला वा नबनाउला त्यो हेर्न भने केहि महिना कुर्नु पर्ने हुन्छ ।


Back_to_top