काठमाडौं । नेपालमा बिक्री भएका होण्डाका विभिन्न ७ मोडलका गाडीमा सेफ्टी रिकल गरिएको छ ।
नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होण्डाका पुराना मोडेलहरू रिकल गरेको हो ।
पुराना गाडीको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकल गरिएको हो ।
कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्मका होण्डाका मोडेलहरू सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड प्रभावित भएका छन् ।
ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस अभियान अन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।
सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकहरूलाई आफ्नो नजिकको होण्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ।


