स्लिप एण्ड असिस्ट क्लचमा नयाँ रोयल इनफिल्ड क्लासिक ३५०

काठमाडौं । रोयल इनफिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल क्लासिक ३५० लाई नयाँ अपडेटसहित सार्वजनिक गरेको छ ।

रोयल इनफिल्डले नयाँ फिचर थपेर २०२६ मोडलको क्लासिक ३५० मोटरसाइकल भारतीय बजारमा बिक्री सुरू गरेको हो । कम्पनीले २०२६ क्लासिक ३५० मोटरसाइकलको मूल्य १ लाख ९४ हजार ६६८ भारु (एक्स शोरुम) तोकेको छ ।

क्लासिक ३५० मा थपिएको सबैभन्दा महत्वपूर्ण फिचर स्लिप एण्ड असिस्ट क्लच हो । यसले क्लच संचालनलाई थप हलुका बनाउनुका साथै गियर डाउनसिफ्ट गर्दा मोटरसाइकललाई अझ सहज र स्मुथ बनाउँछ ।

विशेषगरी सहरको भीडभाडयुक्त सडकमा बारम्बार गियर परिवर्तन गर्नुपर्ने अवस्थामा यसले राइडिङ अनुभवलाई सहज बनाउने कम्पनीको दाबी छ ।

त्यसैगरी, मोटरसाइकलमा यूएसबी टाइपसी फास्ट चार्जिङ पोर्ट पनि थपिएको छ, जसमार्फत यात्राका क्रममा स्मार्टफोन लगायत अन्य इलेक्ट्रोनिक उपकरणहरू सहजै चार्ज गर्न सकिनेछ ।

अब रोयल एनफिल्डको लाइनअपमा स्लिप एण्ड असिस्ट क्लच नपाउने एकमात्र मोटरसाइकल बुलेट ३५० मात्र बाँकी रहेको छ ।

कम्पनीले यस अपडेटसँगै क्लासिक ३५० को हेल्सियन ब्ल्याक र जोधपुर ब्लू कलर विकल्पलाई भने बन्द गरेको छ ।

नयाँ फिचर थपिए पनि क्लासिक ३५० को इन्जिन तथा अन्य मेकानिकल पक्षमा कुनै परिवर्तन गरिएको छैन । यसमा पहिलेकै ३४९ सीसी क्षमताको एयर कुल्ड जे सिरिज इन्जिन प्रयोग गरिएको छ । जसले २०.४ पीएस पावर र २७ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई ५ स्पीडको गियरबक्ससँग जोडिएको छ ।

मोटरसाइकलको सस्पेन्सन, ब्रेकिङ सिस्टम तथा ह्वील सेटअपलाई पनि यथावत राखिएको छ । रोयल एनफिल्ड क्लासिक ३५० अहिले एमेराल्ड, स्टेल्थ ब्ल्याक, गन ग्रे, कमाण्डो स्याण्ड, मेडालियन ब्रोन्ज, मद्रास रेड र रेडिच रेड गरी ७ वटा आकर्षक कलर विकल्पमा उपलब्ध रहेको छ ।


Back_to_top