काठमाडौं । नेपाली सडकमा गुड्ने मध्येकै पुरानो एक डर्ट बाइक हो हाटफोर्डको भिआर १५० । यो मोटरसाइकल ताइवानमा उत्पादन भएको हो । यही सेग्मेन्टमा पछिल्लो समय नेपालमा चर्चित रहेको बाइक हो होन्डा एक्सआर १५० एल । यी दुई मोटरसाइकलमा कति फरक छ भन्ने विषय १५० सीसीको डर्ट बाइक किन्नेलाई जानकारी हुनु राम्रो हुन्छ ।
जापानी कम्पनी होन्डाले एक्सआर १५० एलको उत्पादन चीनमा गर्दै आएको छ । निकै स्टाइलिस देखिने यो डर्ट बाइक अहिले नेपालमा सबैभन्दा बढी बिक्री हुने १५० सीसी सेग्मेन्टको मोटरसाइकल हो ।
उसोत भिआर १५० नेपालमा बिक्री सुरु भएको धेरै वर्ष भइसकेको छ । एक समय डर्ट बाइक किन्न चाहनेको पहिलो रोजाईमा पर्दै आएको यो बाइक पछिल्लो दिनमा नेपालमा खासै बिक्री सकिरहेको थिएन । यस्तोमा नेपालको आधिकारीक वितरक नै परिवर्तनगरि नयाँ डिलर मार्फत यसको बिक्री सुरु भएको छ ।
अहिले भिआर १५० मा धेरै फिचर परिमार्जन भएर आएको बिक्रेता कम्पनी इग्निशन अटोले जनाएको छ । नयाँ फिचरसहित यसको मूल्यपनि पहिलेको तुलनामा बढेको छ ।

इन्जिनमा यस्तो फरक
होन्डाले एक्सआरमा १५० सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले १२.४ हर्स पावर प्रदान गर्छ । भिआर १५० मा १४९ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले १७ हर्स पावर प्रदान गर्ने छ । दुबै बाइकमा समान ५ स्पीड गियरबक्स दिइएको छ ।
टायर साइज
यी दुबै बाइक अफरोडलाई ध्यानमा राखेर उत्पादन गरिएका हुन् । त्यसैले यसमा दिइएको टायर निकै महत्वपूर्ण हुन्छ ।
होन्डा एक्सआरमा अगाडिको टायर १९ इन्चको छ भने, पछाडिको टायर १७ इन्चको रहेको छ ।
भिआरमा भने अगाडिको टायर २१ इन्चको रहेको छ । यसमा पछाडिको टायर भने एक्सआरकै जस्तो १७ इन्चको रहेको छ ।

सस्पेन्सन र ब्रेक
अफरोड राइडिङको लागि प्रयोग हुने भएकाले यसमा रहेको सस्पेन्सन निकै महत्वपूर्ण मानिन्छ । राम्रो सस्पेन्सन भएको मोटरसाइकलमा यात्रा गर्दा निकै आरमदायी अनुभव गर्न सकिन्छ ।
यसकालागि सबै कम्पनीहरुले सस्पेन्सनमा विशेष ध्यान दिने गरेका हुन्छन् । होन्डाले एक्सआर १५० एलमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि सिंगल शक स्वीङ एलएक्स ट्राभल सस्पेन्सन दिएको छ ।
हाटफोर्डले भिआर १५० मा अगाडि टेलिस्कोपिक इन्भर्टेड फर्क र पछाडि मोनो शक एब्जर्बर दिएको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक रहेको छ भने होन्डा एक्सआर १५० मा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिएको छ ।

माइलेज
अफरोड मोटरसाइकल भएरपनि यी दुबै मोटरसाइकलले दाबी गरेको माइले ४० किलोमिटर प्रतिलिटर रहेको छ ।
साइज
भिआरको लम्बाई २१०० एमएम, चौडाई ८५० एमएम र उचाई १२३० एमएम रहेको छ । होन्डा एक्सआर १५० को पनि लम्बाई समान २१०० एमएम, चौडाई ८२० एमएम र उचाई ११२६ एमएम रहेको छ ।
भिआरमा १३७५ एमएमको ह्वीलवेस प्रयोग गरेको छ भने एक्सआरमा १३६० एमएमको ह्वीलवेस रहेको छ ।
मूल्य
होन्डा मोटरसाइकल नेपालमा प्रिमियम ब्राण्डको रुपमा रहेकाले यसको मूल्य भिआरको तुलनामा बढी रहेको छ । होन्डा एक्सआर १५० एलको नेपालमा मूल्य ५ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।
नयाँ फिचरसहित आएको भन्दै कम्पनीले भिआर १५० को मूल्य ४ लाख ६५ हजार रुपैयाँ राखेको छ । यस्तोमा यी दुई मोटरसाइकलको मूल्यमा ५९ हजार ९०० रुपैयाँको अन्तर रहेको छ ।

