काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संस्था नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले फेब्रुअरी ९ देखि १४ तारिखसम्म अटो शो आयोजना गर्ने घोषणा गरेको छ । नाडा अटो शो २०२० र २१ आयोजना हुन सकेको थिएन ।
यसअघि सेप्टेम्बरमा आयोजना हुँदै आएको नाडा अटो शो २०२२ भने फेब्रुअरीमा आयोजना हुने भएसँगै कम्पनीहरुले आफुलाई कसरी प्रस्तुत गर्छन् भन्ने चासो पनि सुरु भएको छ ।
विगतमा दशैं आउनु करिब १ महिना अघि आयोजना हुने अटो शोलाई केन्द्रमा राखेर विभिन्न कम्पनीले नयाँ मोडल र दशैं–तिहार स्कीम ल्याएर अवलोकनकर्तालाई आकर्षित गर्ने गरेका थिए । तर, यसपटक फागुन महिनामा हुने भएकाले कम्पनीहरुले कस्तो योजना अगाडि ल्याउने छन्, त्यो हेर्न भने कुर्नु पर्ने हुन्छ ।
नाडाले अटोमा सहभागीता जनाउने कम्पनीहरुले आगामी नोभेम्बर १८ तारिखदेखि २२ तारिखसम्मको समय सिमा दिएर स्टल बुकिङ खुल्ला गरेको छ । यसअघि जस्तै कम्पनीहरुले सहभागिता जनाउने छन् वा छैनन् भन्ने विषय एक हप्ता भित्र थाहा हुनेनै छ ।
विभिन्न कम्पनीहरुले अटो शोमा सहभागिता जनाउने र आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने योजना भने बनाउन सुरु गरिसकेका छन् । यसले आगामी अटो शोमा कम्पनीहरुको बाक्लो सहभागिता हुने अनुमान गर्न सकिन्छ ।
यसअघि फेस्टीभ सिजनमा आयोजना हुने नेपालको एकमात्र अटो शोमा ग्राहकको बाक्लो उपस्थिती रहदै आएको छ । यसमा विभिन्न कम्पनीले अटो शोमा राम्रो व्यापार गर्दै आएका थिए । फेस्टीफ सिजनमा आयोजना हुने भएका कारण ग्राहकले फेस्टीफ स्कीममा नै अटो शोमा सवारीसाधन खरिद गर्ने गरेका थिए भने अब हुने अटो शोका लागि कम्पनीहरुले अटोे शो केन्द्रित स्कीम ल्याउनु पर्ने देखिन्छ । यसले ग्राहकलाई केहीहदसम्म फाइदा पुग्ने अनुमान गर्न सकिन्छ ।


