काठमाडौं । साना र कम मूल्यका गाडी बजारमा विक्री हुँनै छाडेको तथ्यांकले देखाएको छ । इन्ट्री लेभल ह्याचव्याक सेग्मेन्टको विक्रीमा आएको गिरावटले धेरै अटोमोवाइलका जानकारहरुलाई हैरानीमा पारेको छ ।
नेपालमा कुनै समय सर्वाधिक विक्री हुने सेग्मेन्टमा इन्ट्री लेभल ह्याचव्याक थिए । अहिले पनि बजारमा कम्पनीहरुले इन्ट्री लेभल ह्याचव्याक उपलब्ध गराएको भएपनि त्यति राम्रो विक्री हुन सकिरहेको छैन ।
अहिले नेपालमा सर्वाधिक विक्री हुने सेग्मेन्टमा स्पोर्टस् यूटिलीटी भेहिकल रहेको छ भने इन्ट्री लेभल ह्याचव्याक र सेडान कारको बजार द्रुतगतिमा घटिरहेको छ । सन् २०१८ पछि नै इन्ट्री लेभल ह्याचव्याकको बजार हिस्सा घट्दो क्रममा रहेको छ ।

अहिले यो सेग्मेन्टमा सर्वाधिक सफल मोडल हुन्डाई सेन्ट्रो र रेनो क्वीड हो । यी दुबै मोडलको विक्री अन्यको तुलनामा निराशपूर्ण रहेको मान्न सकिन्छ । सन् २०२१ को जनवरीदेखि अक्टोबरसम्म हुन्डाई सेन्ट्रो ४५८ यूनिट आयात भएको छ भने रेनो क्वीड २८५ यूनिट आयात भएको छ । यसले सेग्मेन्टको अवस्था प्रस्ट पारेको मान्न सकिन्छ ।
यही सेग्मेन्टमा रहेको डाट्सन रेडी गोको विक्री पनि निकै कमजोर भएको छ । मारुती सुजुकी सेलेरियो अहिले बजारमा उपलब्ध रहेको छैन । कम्पनीले १० महिनामा ९२ यूनिट सेलेरियो नेपाल ल्याएको थियो । नयाँ सेलेरियो नेपाल आउने क्रममा रहेको छ । यसले कस्तो व्यापार गर्छ अहिल्यै एकिन गर्न सकिदैन । रेडी गोको आयात पनि उत्साहजनक छैन । कम्पनीले १० महिनामा ११५ यूनिट रेडी गो आयात गरेको देखिन्छ ।

मारुती सुजुकी एक्सप्रेसो १७४ यूनिट र वागेनआर २५० यूनिट आयत भएको छ । यी सबै गाडीको आयत हेर्दा १० महिनामा १४ हजारभन्दा बढी गाडी आयात हुँदा साना र कम मूल्यका ह्याचव्याकको आयात १ हजार ३७४ यूनिट मात्रै रहेको छ । यो तथ्यांक नेपाल जस्तो विकासोन्मुख देशको लागि निरासाजनक मान्न सकिन्छ ।
कुनै समय सेलेरियो, सेन्ट्रो, ए-स्टार, क्वीड, रेडी गो, अल्टो के १०, हुन्डाई आई १० जस्ता मोडल बजारमा सर्वाधिक विक्री हुने मोडलमा पथ्र्यो । अहिले समय फेरिएको छ । बजारमा क्रेटा, ब्रेजा, सेल्टोस, म्याग्नाइट, नेक्सन जस्ता एसयूभी सेग्मेन्टको विक्री बढेको छ भने साना गाडीको विक्री घट्दै गएको छ ।

यसरी साना गाडीको विक्री घट्नुमा मानिसको आम्दानी मूल्य वृद्धिको तुलनामा बढ्न नसक्नु रहेको जानकारहरु बताउँछन् । यसले बजारमा साना र नयाँ गाडी किन्ने मानिस नथपिएको देखाउँछ । पहिले नै साना गाडी चढेकाले भने केही बजेट थपेर ठूलो गाडी किन्न खोजेको देखिएको छ ।
पहिलेको सानो गाडी सेकेन्ड ह्याण्ड बजारमा विक्री हुने भएकोले अहिलेको बजार माग यी नै सेकेन्ड ह्याण्ड गाडीले पुरा गरिरहेको केहीको बुझाई छ ।

‘साना गाडी रिकन्डिसनमा खोज्ने मानिस धेरै छन् । तर, सोचे अनुरुपको सप्लाई छैन । बजार माग सम्बोधन गर्न उपत्यका बाहिरका सहरबाट साना गाडी काठमाडौं ल्याएर विक्री गर्ने बढेका छन्’, श्रेया अटोमोवाइलका संचालक सचिन कुईकेलले मेरोअटोसँग भने ।
यसले साना गाडी किन्ने मानिसको रुची रिकन्डिसनमा रहेको देखाउँछ भने, नयाँ गाडी किन्ने धेरै मानिस कम्प्याक्ट यूटिलीटी भेहिकल तर्फ मोडिएको देखाउँछ ।

