आयो छतमा पनि एयरब्याग भएको एसयूभी

काठमाडौं । हुन्डाई मोटर ग्रुपको लक्जरी ब्राण्ड जेनेसिसले छतमा पनि एयरब्याग दिएर नयाँ एसयूभी ल्याएको छ । दक्षिण कोरियाली कम्पनीले आफ्नो नयाँ एसयूभी ‘जीभी-९०’ मा १२ वटा एयरब्याग दिएर बजारमा उतारेको हो ।

यसलाई कम्पनीले विश्वकै पहिलो ‘रुफ एयरब्याग’ भएको दाबी गरेको छ । हुन्डाई मोटर ग्रुपको अहिलेसम्मकै सबैभन्दा ठूलो, शक्तिशाली र विलासी एसयूभी ‘जीभी-९०’ भएको कम्पनीको दाबी छ ।

जेनेसिसको यो पूर्ण विद्युतीय एसयूभीले रेन्ज रोभर, मर्सिडिज मेब्याक जीएलएस र रोल्स-रोयस कुलिननजस्ता मोडलसँग सिधा प्रतिस्पर्धी गर्ने अनुमान गरिएको छ ।

यसको सबैभन्दा आकर्षक विशेषता भनेको कम्पनीले देखाएको ‘नियोलुन’ संस्करणसँग मिल्दो ‘कोच डोर डिजाइन’ हो । यो डिजाइनको ढोका अगाडिको र पछाडिको विपरीत दिशामा खुल्छ ।

जीभी-९० को लम्बाइ ५२८५ एमएम, चौडाइ २३० एमएम र ह्वीलबेस ३२४५ एमएम लामो छ । यसमा अगाडि २४० किलोवाट र पछाडि २५० किलोवाट क्षमताको दुईवटा इलेक्ट्रीक मोटर पाउन सकिन्छ । कुल पावर आउटपुट ४९० किलोवाट अर्थात् करिब ६५७ बीएचपी र टर्क ८०० एनएम रहेको छ ।

यसमा १२३.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । जुन हुन्डाई मोटर ग्रुपका विद्युतीय गाडीमध्ये अहिलेसम्मकै ठूलो ब्याट्री हो । ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्ने एसयूभीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २२ मिनेट लाग्ने दाबी गरिएको छ ।

लक्जरी इन्टेरियरमा २३.६ इन्चको ओएलईडी सिनेमाटिक डिस्प्ले, २५ इन्च हेड-अप डिस्प्ले, जेनेरेटिभ एआई असिस्टेन्ट, २५ स्पिकरसहितको ब्याङ एन्ड ओलुफसेन थ्रीडी साउण्ड सिस्टम र मसाज सिट जस्ता फिचर छन् ।

पार्किङ गरेर बसेको समयमा अगाडिका सिट १८० डिग्रीसम्म घुमाउन सकिने छ । जसले पछाडि सिटमा बसेका मानिससँग मिटिङ पनि गर्न सकिन्छ ।

शीर्ष संस्करण ‘नियोलुन एक्जिक्युटिभ सुइट’ चार सिटको अल्ट्रा-लक्जरी कन्फिगरेसनमा उपलब्ध हुनेछ । यसमा रेफ्रिजरेटर, टेबल, सेमी-एनिलिन लेदर र विशेष स्मार्ट ग्लास रुफ जस्ता फिचर पाइने छ ।


Back_to_top