काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा झण्डै १ हजार युनिट कार नेपाल भित्रिएका छन् ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा कुल ९८७ युनिट कार, जीप, भ्यान आयात भएको हो । यो विद्युतीय,पेट्रोल, डिजेल र हाइब्रिड सबै कारको संख्या हो ।
विभागका अनुसार साउनमा ६८९ युनिट विद्युतीय, २१९ युनिट पेट्रोल, ५६ युनिट डिजेल र २३ युनिट प्लगइन हाइब्रिड कार आयात भएको हो ।
साउनमा कुल २ अर्ब १९ करोड रुपैयाँ बराबरको कार आयात भएको छ । जसबाट सरकारले २ अर्ब ४४ करोड रुपैयाँ राजस्व पाएको छ ।
गत वर्ष साउनको तुलनामा चालु आवमा कार आयात झण्डै २४ प्रतिशत अर्थात् १९० युनिट धेरैले बढेको हो । गत वर्ष साउनमा कुल ७९७ युनिट कार भित्रिएका थिए ।
ईभी आयात चार गुणा बढ्याे
गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय कार आयात चार गुणाले बढेको छ । विभागका अनुसार यस वर्ष साउनमा ६८९ युनिट ईभी आयात भएको छ । जबकि गत वर्ष साउनमा जम्मा १६० युनिट मात्रै ईभी भित्रिएका थिए ।
चालु आवको साउनमा १ अर्ब ६१ करोड रुपैयाँ बढीको ईभी कार आयात भएको छ । जसबाट सरकारले १ अर्ब ६ करोड रुपैयाँ राजस्व पाएको छ । गत वर्ष साउनमा ४१ करोड ८८ लाख रुपैयाँ बराबरको ईभी कार आयात भएको थियो ।
व्यवसायीहरुले साउनमा भएको नाइमा मोबिलिटी एक्स्पो र भदौमा आयोजना हुने नाडा अटो शोलाई लक्षित गरी नयाँ ईभी ल्याउँदा आयात बढेको हो । साथै, अटो शोमा १ दर्जन बढी नयाँ ब्राण्डका ईभी कार आएकाले पनि आयात बढ्न सहयोग पुर्याएको हो ।
साउनमा पेट्रोल डिजेल कार आयातमा ४४ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ । जसबाट सरकारले १ अर्ब ९ करोड रुपैयाँ राजस्व पाएको छ । त्यस्तै, १३ करोडको हाइब्रिड कार आयात हुँदा २९ करोड राजस्व उठेको छ ।


