एक महिनामा भित्रिए २८ हजार दुईपाँग्रे, ईभीको हिस्सा १८% पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा झण्डै २८ हजार युनिट दुईपाँग्रे सवारी साधन (मोटरसाइकल÷स्कुटर) नेपाल भित्रिएका छन् ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालु आवको साउनको व्यापार तथ्यांक अनुसार २७ हजार ८०६ युनिट दुईपाँग्रे सवारी आयात भएको हो ।

विभागका अनुसार साउनमा कुल ४ अर्ब रुपैयाँ बराबरको मोटरसाइकल र स्कुटर (मोपेड बाहेक) आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको तथ्यांक हो ।

साउनमा दुईपाँग्रे सवारी आयातबाट सरकारले ३ अर्ब ४८ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ ।

चालु आवको साउनमा गत आवको सोही महिनाको तुलनामा दुईपाँग्रे सवारी आयात ७.५२ प्रतिशत अर्थात् २२६२ युनिट कम आयात भएको हो । गत आव साउनमा ३० हजार ८७ युनिट मोटरसाइकल र स्कुटर भित्रिएका थिए ।

विभागका अनुसार साउनमा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८० प्रतिशत बढी अनएसेम्बल रहेका छन् । हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकल/स्कुटर नेपालमै एसेम्बल हुन्छन् ।

साउनमा पहिलो पटक एक महिनामै ५ हजार युनिट बढी इलेक्ट्रीक स्कुटर आयात भएको छ । यो महिना २७ हजार ८०६ युनिट दुईपाँग्रे आयात हुँदा ५१७४ युनिट विद्युतीय रहेका छन् । कुल दुईपाँग्रे आयातमा विद्युतीयको हिस्सा १८.६० प्रतिशत पुगेको छ ।


Back_to_top