काठमाडौं । हुन्डाई क्रेटा नेपाल र भारतमा सर्वाधिक सफल कम्प्याक्ट एसयूभी हो । अहिले बजारमा किया सेल्टोस, निसान किक्स, स्कोडा कुशक र फक्सवागेन टाइगुनसँग प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्न सफल क्रेटालाई हुन्डाईले इन्डोनेशिया प्लान्टबाट पहिलो गाडीको रुपमा उत्पादन सुरु गरेसँगै भारतीय र इन्डोनेशियाली क्रेटाको बीचमा तुलना सुरु भएको छ ।
हुन्डाईले प्यारामेटिक हिडन लाइटसहितको ग्रिलमा ल्याएको इन्डोनेयिाली भर्सन क्रेटा टुसानको अगाडि भागबाट प्रेरित रहेको छ भने, साइड बडी प्यानलमा ठूलो परिवर्तन गरिएको छैन । अगाडिको भागमा भएको परिवर्तनले दुई क्रेटालाई अलग पहिचान दिएको छ । त्यसैले पनि धेरैले यसलाई क्रेटाको फेसलिफ्ट मोडल भन्ने गरेका छन् तर, यो फेसलिफ्ट नभई नयाँ क्रेटा नै हो । यी दुबै क्रेटाको अन्तर्राष्ट्रिय बजारसमेत फरक फरक रहेको छ ।
यस्तोमा क्रेटाको दुई फरक मोडलमा रहेका ४ भिन्नता यस प्रकार छुट्टाउन सकिन्छ ।
१. अगाडिको फेसिका: दुबै मोडलको अगाडिको भागमा व्यापक फरक देख्न सकिन्छ । इन्डोनेशियाली भर्सनमा टुसान प्रेरित फ्रन्ट ग्रिलको प्रयोग भएको छ भने बम्परको तल्लो भागमा हेडलाइट दिइएको छ । भारतमा उत्पादन हुने क्रेटामा फरक ग्रिल पाउन सकिन्छ । भारतमा उत्पादन हुने क्रेटामा आकर्षक ठूलो ग्रिल, थ्रि आई प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइटको कलात्मक संयोजन रहेको छ ।

२. पछाडिको भागमा परिवर्तन: हुन्डाईले इन्डोनेशियामा सार्वजनिक गरेको क्रेटाको पछाडिको भागमा दिइएको लाइटलाई परिवर्तन गरेको छ । रि-डिजाइन गरिएको टेलल्याम्पले यसको पछाडिको भागलाई फरक देखाएको छ । यहाँ विक्री हुने क्रेटामा दुई टेलल्याम्पकाे बीचमा पारदर्शी लाइन दिइएको छ । त्यसलाई इन्डोनेशियाली भर्सनमा हटाइएको छ ।
३. फिचरमा परिमार्जन: इन्डोनेशियामा बनेको क्रेटामा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । अपग्रड गरिएको हुन्डाई व्लू लिंक कनेक्ट कार फिचरमा एन्टी थेप्ट ट्रायाकिङ सिस्टम, भ्यालेट पार्किङ मोड जस्ता सुविधा प्रदान गरिएको छ । भारतमा उत्पादन हुने क्रेटामा व्लू लिंक कनेक्ट कार फिचर र ७ इन्चको टिएफटी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध रहेको छ ।
४. एड्भान्स ड्राइभर एसिस्ट सिस्टम: भारतीय उत्पादनमा केही मात्र प्रयोग भएको एड्भान्स ड्राइभर एसिस्ट सिस्टमलाई इन्डोनेशियाली स्पेकमा कम्पनीले पूर्णरुपमा प्रयोग गरेको छ । एड्भान्स ड्राइभर एसिस्ट सिस्टममा चालकले व्लाइन्ड स्पर्ट मोनिटर, रियर क्रस ट्राफिक सूचक जस्ता सूविधा पाउने छन् ।

