काठमाडौं । बुधबार उपत्यकामा एक कार्यक्रम आयोजना गर्दै नामी भिगो एसयूभीको नयाँ भेरियन्ट बिक्री सुरू भयो । डोङफेङ नामीकाे आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नामी भिगोको मूल्य ३५ लाख ९९ हजार कायम गरेसँगै यसले अटोमोबाइल बजारमा नयाँ तरङ ल्याएको छ ।
कम्पनीले यसअघि ई २ प्लस भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको थियो । नयाँ भेरियन्टको मूल्य ८ लाख रुपैयाँले कम तोकिएको छ । नयाँ आएको भेरियन्टमा मुनरुफ र १७ इन्चको ह्वील छ । यस बाहेक सम्पूर्ण फिचरहरू एउटै पाउन सकिन्छ ।
नयाँ भेरियन्ट सार्वजनिक गर्दै एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले आफूहरू सधैँ ग्राहकलाई उत्कृष्ट अनुभव दिन काम गरिरहेको बताए । उनले भने, ‘हाम्रो पहिलो लक्ष्य ग्राहक सन्तुष्टि हो । त्यसैले ग्राहकको चाहना केन्द्रमा राखेर हामी काम गर्छौं ।’
मूल्य घटाइएको सम्बन्धमा प्रष्ट पार्दै अध्यक्ष अग्रवालले भने, ‘सरकारको नयाँ कर नीति अनुसार राजश्व कम लाग्यो । त्यो रकम हामीले उपभोक्तामा पूरै ट्रान्सफर गरेका हौं । राज्यले दिएको सुविधा उपभोक्ताहरूकै लागि हो । त्यसको कार्यनवयमा एमएडब्लू ग्रुप प्रतिबद्ध रहेको छ ।’
आफ्नो ६० वर्ष लामो अटोमोबाइल क्षेत्रको अनुभव र न्यू इनर्जी भेहिकलको क्षेत्रमा डोङफेङसँगको सहकार्यले नेपाली उपभोक्तालाई गुणस्तरिय सवारीसाधन उपलब्ध गराउने र बिक्रीपछिको सेवामा पनि नयाँ अनुभव प्रदान गराउन कटिबद्ध रहेको अग्रवालको भनाइ थियो ।
नामी भिगोको मूल्य बजारमा अहिले चर्चामा रहेको सब फोर मिटर एसयूभी र प्रिमियम ह्याचब्याक कारको बराबर नै भएपछि नयाँ बहस सुरू भएको छ । भर्खरै सकिएको नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएका टाटा पन्च ईभी, आर्कफक्स टी १, चेरी क्यू, बीवाइडी एटो २, लिपमोटर बी०३ एक्स जस्ता मोडललाई भिगोको नयाँ मूल्यले दबाबमा राखेको देखिन्छ ।
नामी भिगो अघिल्लो वर्ष नेपाली बजारमा आएको एसयूभी हो । संख्यात्मक रूपमा निकै राम्रो संख्यामा आयात भएको भिगोले उपभोक्ताको प्रतिक्रिया पनि निकै राम्रो पाइरहेको छ । नयाँ मूल्यमा कस्तो व्यापार गर्छ, त्यो हेर्न भने अझै केही दिन कुर्नु पर्ने हुन्छ ।


