उड्यो विश्वकै ठूलो इलेक्ट्रीक जहाज, २७ मिनेटको उडान खर्च ५ डलर मात्रै

काठमाडौं । विश्वभर यातायातका लागि विद्युतीय साधनको प्रयोग बढ्दो छ । रेल, गाडी हुँदै अब हवाईजहाज समेत विद्युतीय नै निर्माण हुन थालेको छ ।

यसैक्रममा, हालसम्मको विश्वकै ठूलो विद्युतीय जहाजको सफल परीक्षण सम्पन्न भएको छ । नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थप्दै अमेरिकी स्टार्टअप कम्पनी ‘हार्ट एरोस्पेस’ले निर्माण गरेको विश्वकै ठूलो प्योर इलेक्ट्रीक जहाज ‘एक्स वान’ले सफल परीक्षण उडान सम्पन्न गरेको हो ।

यसको पहिलो परीक्षण उडान अगस्ट १२ मा माथिल्लो न्यूयोर्कको प्ल्याट्सबर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो । २५ हजार पाउण्डभन्दा बढी तौल भएको उक्त जहाजले २७ मिनेटसम्म हावामा तैरिएर १ हजार १०० फिटको उचाइ हासिल गरेको थियो ।

१०६ फिट पंखाको चौडाइ र ७६ फिट लामो यो विमानले उडान अवधिभर १ मेगावाटभन्दा बढी शक्ति प्रदान गरेको थियो । जसको बिजुलीको बिल ५ डलर (करिब नेपाली ७६० रुपैयाँ) मात्र) उठेको कम्पनीले जनाएको छ ।

अकासिँदो इन्धन खर्च र वातावरणीय प्रदूषणको मारमा परेका क्षेत्रीय एयरलाइन्सहरूका लागि यो प्रविधि एउटा क्रान्तिकारी कदम सावित हुने देखिएको छ ।

हार्ट एरोस्पेसका संस्थापक तथा कार्यकारी प्रमुख एन्डरस फोसलोण्डले व्यावसायिक एयरलाइनको स्तरमै विद्युतीय उडान सम्भव छ भन्ने कुरा एक्स वानले प्रमाणित गरेका बताए ।

यस प्रविधिले हवाई क्षेत्रको अर्थतन्त्रलाई मौलिक रूपमा बदल्दै यात्रुहरूका लागि भाडा दर उल्लेख्य रूपमा घटाउने उनले बताए । साथै, घरनजिकैका साना विमानस्थलहरूबाट सफा र सुलभ सेवा उपलब्ध गराउने उनको भनाइ छ ।

‘एक्स वानको सफल उडानले व्यावसायिक एयरलाइनको स्तरमै विद्युतीय उडान सम्भव छ भन्ने प्रमाणित गरेको छ। यसले भविष्यमा यात्रुहरूका लागि हवाई भाडा उल्लेख्य रूपमा घटाउनेछ र घरनजिकैका विमानस्थलबाट सफा तथा सस्तो सेवा दिनेछ,’ उनले भने ।

कम्पनीको आगामी हाइब्रिड विद्युतीय प्रोप विमानले फुल ट्यांकी र ब्याट्रीको मद्दतले ३० जना यात्रु र तिनका सामानहरूलाई ५०० माइलसम्मको दूरीमा लैजान सक्नेछ । केवल बिजुलीको भरमा यसले १२५ माइलको दूरी तय गर्न सक्ने र ब्याट्री रिचार्ज गर्न ३० मिनेटको समय लाग्ने हार्ट एरोस्पेसको दाबी छ ।

हाइब्रिड विमानको प्रकार प्रमाणीकरण सन् २०३१ सम्ममा हासिल गर्ने लक्ष्य राखिएको छ । तर त्यो नभएसम्म मुख्य प्रविधि, एरोडायनामिक्स र उडान कार्यसम्पादनलाई प्रमाणित गर्न एक्स वान विद्युतीय विमानको प्रयोग गरिनेछ ।

हार्टले आफ्नो लस एन्जलसस्थित पाइलट उत्पादन प्लाण्टमा पहिलो प्रि प्रोडक्सन ईएस ३० हाइब्रिड विमानको विकास सुरू गरिसकेको दाबी गरेको छ । जसको उडान परीक्षण सन् २०२८ का लागि तय गरिएको छ। युनाइटेड एयरलाइन्स, एयर क्यानाडा र जेएसएक्सले यस हाइब्रिड विद्युतीय विमानमा रुचि देखाइसकेका छन् । जसका लागि ९.४ अर्ब डलरको ग्राहक प्रतिबद्धता प्राप्त भइसकेको छ ।


Back_to_top