१०८ वर्ष अगाडि बनेको ईभीको रेन्ज पहिलो मोर्डन ईभीको भन्दा धेरै

काठमाडौं । तपाईलाई सुन्दा अचम्म लाग्ला १०८ वर्ष पहिलेको ईभीले आधुनिक ईभी निसान लिफको पहिलो मोडलभन्दा धेरै रेन्ज दिन्थ्यो ।

आजभन्दा १०८ वर्षअघि निर्माण भएको ‘१९१८ डेट्रोइट इलेक्ट्रीक मोडल ७५बी’ले एक पटकको फुल चार्जमा करिब १२९ किलोमिटर रेन्ज दिन्थ्यो ।

यहाँ रोचक कुरा के छ भने, सन् २०१० डिसेम्बरमा आएको ईभीमा आधुनिक युग सुरु गर्ने पहिलो पुस्ताको निसान लिफले दिने रेन्जभन्दा बढी थियो । पहिलो पुस्ताको निसान लिफले सिंगल चार्जमा ११७ किलोमिटर हाराहारी मात्रै रेन्ज दिन्थ्यो ।

हालै मोन्टेरे कार सप्ताहका क्रममा लिलामीका लागि राखिएको उक्त क्लासिक विद्युतीय कार अमेरिकाको एन्डरसन इलेक्ट्रीक कार कम्पनीले निर्माण गरेको थियो । कारमा कुल ४२ वटा लेड एसिड ब्याट्री प्रयोग गरिएको थियो । तीमध्ये २१ वटा अगाडि र २१ वटा पछाडिको भागमा राखिएका छन् ।

यी ब्याट्रीले फ्लोरमुनि जडान गरिएको ४.२८ हर्सपावर क्षमताको विद्युतीय मोटरलाई शक्ति प्रदान गर्थे । मोटरबाट उत्पादित शक्ति रियर डिफरेन्सियलमार्फत पछाडिका चक्कामा पठाइन्थ्यो ।

यद्यपि, यसको रेन्ज आकर्षक भए पनि गति निकै सीमित थियो । डेट्रोइट इलेक्ट्रीक मोडल ७५बीको अधिकतम गति प्रतिघण्टा केवल ३२ किलोमिटर मात्रै थियो । कम क्षमताको मोटर भएको कारण यसले लामो दुरी तय गर्न सकेको थियो ।

लिलामीमा राख्दा भने यो विशेष मोडलमा पुराना लेड एसिड ब्याट्री हटाएर आधुनिक ब्याट्री जडान गरिएको बताइएको छ । नयाँ ब्याट्रीसँग यसको वास्तविक रेन्ज कति छ भन्ने जानकारी सार्वजनिक गरिएको छैन ।

चारजनासम्म बस्न मिल्ने यस कारको भित्री डिजाइन पनि आजका कारभन्दा निकै फरक देखिन्छ । फराकिलो सिसा, कपडाका आरामदायी सिट, झ्यालमा पर्दा र पुरानो शैलीको स्टेयरिङ टिलरले यसलाई विशेष बनाएको छ ।

आजको तीव्र गतिका विद्युतीय गाडीसँग तुलना गर्दा यसको गति अत्यन्त कम देखिए पनि डेट्रोइट इलेक्ट्रीक मोडल ७५बीले विद्युतीय सवारी साधनको इतिहास आधुनिक युगभन्दा धेरै पुरानो रहेको प्रमाणित गरेको छ । –इनसाइड ईभीबाट भाबअनुवाद गरिएको ।


Back_to_top