नेपाल आइपुग्यो प्रिमियम एसयूभी दीपल नेभो क्यू ०५, कति पर्ला मूल्य ?

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चांगानको प्रिमियम सबब्राण्ड नेभोको क्यू ०५ इलेक्ट्रीक एसयूभी नेपाल आइपुगेको छ ।

नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘दीपल नेभो क्यू ०५’ नाममा उक्त एसयूभी नेपाल ल्याएको हो ।

कम्पनीका अनुसार दीपल नेभो क्यू ०५ एसयूभी यही भदौ ९ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने छ ।

आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र ठूलो साइजको भएकाले क्यू ०५ आफ्नो सेग्मेन्टमा बलियो दाबेदारीको रुपमा बजारमा आउन लागेको हो ।

चांगनको अत्याधुनिक ‘डिजिटल विङ २.०’ डिजाइन ल्याङ्ग्वेजमा आधारित नेभो क्यू ०५ आधुनिक, स्लिक र फ्युचरिस्टिक छ । यसको अगाडि स्लीक फुल विथ स्टार रिङ एलईडी लाइट स्ट्रिप, म्याट्रिक्स हेडलाइट्स र क्लोज ग्रिल दिइएको छ । जसले यसलाई निकै आक्रामक र आधुनिक लुक दिन्छ। साइडमा फ्वोङि क्यारेक्टर लाइनहरू, एरोडाइनामिक ह्वील आर्च छ भने पछाडि जोडिएको एलईडी टेललाइट बार प्रयोग गरिएको छ ।

१८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको नेभो क्यू ०५ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसमा २७३५ मिलिमिटर ह्वीलबेस पाउन सकिन्छ ।

नेभो क्यू ०५ एसयूभीमा ५१.९ किलोवाट आवरको गोल्डेन शिल्ड २.० एलएफपी ब्याट्री प्याक छ । जसले एकपटकको फुलचार्जमा ४६२ किलोमिटर एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

यो एसयूभीले १६२ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । जसबाट यसको ब्याट्री केबल १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यसमा १२० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १६३ हर्ष पवार तथा १९० न्युटन मिटर टर्क प्रदान गर्छ । यसले शून्यदेखि १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन ८.२ सेकेण्ड लगाउँछ ।

क्यू०५ को क्याबिन निकै आकर्षक र प्रिमियम छ । यसमा १४.६ इन्चको सेन्ट्रल डिस्प्ले र १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । यसमा एप्पल कार प्ले/एण्डड्रोइज अटो, ५० वाटको वायरलेस चार्जिङ, ब्युल्ट इन ड्यासक्याम, थ्रीडी ५४० डिग्री क्यामेरा, मोबाइलबाटै चल्ने कनेक्टिभिटी सिस्टम, ब्लुटुथ की, ओटीए, २५६ किसिमको एम्बियन्ट लाइट छ ।

यसमा कुल ५४० लिटरको बुटस्पेस पाउन सकिन्छ । २७ ठाउँमा स्टोरेज स्पेस उपलब्ध छ । नेभो क्यू ०५ मा सुरक्षाका लागि ६ वटा एयर ब्याग, ५४० डिग्री क्यामेरा, १८ बढी सुविधा भएको लेभल २ एडास फिचर छ ।

कम्पनीले नेभो क्यू ०५ को मूल्य घोषणा गरेको छैन । तर, करिब ५० लाख रुपैयाँ आसपासमा आउने अनुमान छ । कम्पनीले यसमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिएको छ ।


Back_to_top