हुन्डाई ‘आयोनिक भी’को बिक्री सुरू, मूल्य आकर्षक

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले चीनमा उत्पादन गरेको आयोनिक ब्राण्डको पहिलो मोडलको अग्रिम बिक्री सुरू भएको छ ।

कम्पनीले आजदेखि सुरू भएको छेङ्डु अटो शोमा आधिकारिक रुपमा आयोनिक भी इलेक्ट्रीक क्रसओभर अग्रिम बिक्री सुरू गरेको हो ।

कम्पनीले आयोनिक भी तीन भेरियन्टमा उपलब्ध गराएको छ । जसको सुरूआती मूल्य १७ हजार ६०० अमेरिकी डलर तोकेको छ । यसलाई आकर्षक मूल्य मानिएको छ । टप भेरियन्टको मूल्य २० हजार ६०० डलर निर्धारण गरेको छ ।

कम्पनीले आयोनिक भी आयोनिक सिरिजका अरू मोडलभन्दा विल्कुलै पृथक ‘दी ओरिजिन’ डिजाइन ल्याङ्गवेजमा बनाएको हो । सेडान र एसयूभी शैलीलाई मिसाएर बनाएको आयोनिक भी क्रसओभर मोडल हो ।

हुन्डाईले आयोनिक भी विशेष गरी चिनियाँ बजारलाई ध्यानमा राखेर तयार पारिएको छ । जसको सबै डिजाइन प्रक्रिया हुन्डाई चाइना डिजाइन सेन्टरले गरेको हो । ‘चाइना फस्र्ट’ अवधारणामा र्मिाण गरिएको आयोनिक भी विश्व बजारमा निर्यात गर्ने लक्ष्य राखिएको छ । कम्पनीले यो मोडल पहिलोपटक बेइजिङ अटो शो २०२६ मा सार्वजनिक गरेको थियो ।

आयोनिक भीको डिजाइन आकर्षक र पृथक छ । यसको अगाडि परम्परागत ग्रिलको सट्टा पूर्ण रूपमा क्लोज प्यानल राखिएको छ । जसको दुवैतिर तेर्सो डे टाइम रनिङ लाइट स्ट्रिप र बम्परभित्र एकीकृत हेडलाइटहरू सहितको स्प्लिट लाइटिङ कम्पोनेन्टहरू छन् । साइडमा फ्रेमलेस डोर र भी आकारका ह्वीलहरू छन् । पछाडिको भागमा डाइमेन्सनल स्टार ट्र्याक टेललाइटहरू छन्।

यसको लम्बाइ ४९०० एमएम, चौडाइ १८९० एमएम र उचाइ १४७० एमएम छ । यसको ह्वीलबेस २९०० एमएम छ ।

आयोनिक भी १४० किलोवाट र १६८ किलोवाटको दुई मोटर अप्सनमा उपलब्ध छ । यी मोटरले क्रमशः १८८ हार्सपावर र २२५ हार्सपावर शक्ति प्रदान गर्छन् ।

ब्याट्री पनि दुई अप्सनमै उपलब्ध छ । यसमा सीएटीएलको ५३.५ किलेवाट आवर र ६६.८ किलेवाट आवरको ब्याट्री छ । यी ब्याट्रीले ५२० किमीदेखि ६५० किमीसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

यसको इन्टेरियरमा ‘नेबुला र्याप अराउण्ड’ डिजाइन रहेको छ । जसमा नेबुला लाइट एम्बियन्ट लाइटिङसँगै अल्कान्टारा र चम्किला एक्सेन्टहरूको प्रयोग गरिएको छ । क्याबिनको मुख्य आकर्षण क्वालकम् स्न्यापड्रैगन ८२९५ चिपद्वारा संचालित २७ इन्चको ४के सेन्ट्रल कन्ट्रोल स्क्रीन हो। यसको इन्फोटेनमेन्ट सिस्टममा बाइडुको अर्नी बोट र बाइटडान्सको दोबाओ लगायतका उन्नत एआई लार्ज ल्याङ्ग्वेज मोडलहरू एकीकृत गरिएको छ। साथै, यसमा साइबर आई हेडअप डिस्प्ले छ ।

आयोनिक भीमा उच्च गतिको सहयोगी ड्राइभिङ क्षमता प्रदान गर्न मोमेन्टा प्रणालीको प्रयोग गरिएको छ ।


Back_to_top