३५ लाख तिर्ने ग्राहक कसले तान्ला ? नाडा अटो शोमा रोचक प्रतिस्पर्धा हुने

काठमाडौं । नेपालको विद्युतीय कार बजारमा निकै रोचक मोडमा पुगेको छ । मूल्यका हिसाबले ३० देखि ४० लाख रुपैयाँ पर्ने सेग्मेन्टमा प्रिमियम ह्याचब्याकदेखि एसयूभीसम्म छन् ।

अहिले उपभोक्तासँग एउटै बजेटमा फरक डिजाइन र विशेषता भएका थुप्रै विकल्प उपलब्ध छन् । त्यसैले अब प्रतिस्पर्धा केवल ‘कसको मूल्य सस्तो’ भन्नेमा सीमित छैन । ग्राहकले ब्याट्री क्षमता, वास्तविक रेन्ज, मोटर पावर, ग्राउण्ड क्लियरेन्स, क्याबिन स्पेस, फिचर र ब्राण्डको बिक्रीपछिको सेवासम्म तुलना गरेर निर्णय लिन सक्छन् ।

नामी भिगोको मूल्यमा गरिएको ठूलो कटौतीले यो सेग्मेन्टमा नयाँ दबाब सिर्जना गरिसकेको छ । त्यसको प्रत्यक्ष प्रभाव चेरी क्यू, टाटा पन्च ईभी, टियागो ईभी र आर्कफक्स टी-१, बीवाइडी एटाे १ जस्ता मोडलमा त परेकै छ । मूल्यका हिसाबले ४० देखि ५० लाख सेग्मेन्टमा रहेका मोडल पनि सुरक्षित रहेनन् ।

त्यसैले अबको प्रतिस्पर्धा मूल्यसँगै साइज, फिचर र पर्फमेन्ससँग पनि जोडिने छ ।

छुटको प्रतिस्पर्धा कि मूल्यको पुनःनिर्धारण ?

भदौ ९ गतेबाट सुरू काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ मा अधिकांश ब्राण्डले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज वा आकर्षक फाइनान्स योजनासहित ग्राहक तान्ने प्रयास गर्न सक्छन् ।

तर, पछिल्लो समय देखिएको मूल्य कटौतीले यो केवल ‘अटो शो अफर’ मा सीमित होला कि बजार मूल्य नै नयाँ स्तरमा स्थापित होला भन्ने प्रश्न उपभोक्ताको मनमा मात्रै होइन, व्यवसायीकै मनमा पनि उठेको हुनुपर्छ ।

यदि एकपछि अर्को ब्राण्डले मूल्य समायोजन गर्ने रणनीति अपनाए भने ३० देखि ४० लाख रुपैयाँको सेग्मेन्ट नेपाली ईभी बजारकै सबैभन्दा प्रतिस्पर्धात्मक क्षेत्र बन्न सक्छ । यसबाट सबैभन्दा बढी फाइदा भने ग्राहकले नै पाउने छन् ।

बुकिङपछि सुरू हुनेछ वास्तविक प्रतिस्पर्धा

अटो शोमा कुन ब्राण्डले कति बुकिङ पायो भन्ने विषय चर्चामा रहनेछ । तर, बुकिङ संख्याभन्दा महत्वपूर्ण विषय ग्राहकले कति छिटो गाडी पाउँछन् भन्ने हुनेछ । नयाँ मोडलको बढ्दो मागसँगै समयमा डेलिभरी दिन सक्ने क्षमता कम्पनीका लागि ठूलो चुनौती बन्न सक्छ ।

त्यससँगै स्पेयर पाट्र्सको उपलब्धता, सर्भिस सेन्टरको पहुँच, प्रशिक्षित प्राविधिक र रिसेल भ्यालुले पनि दीर्घकालीन रूपमा कुनै मोडलको सफलता निर्धारण गर्नेछ ।


Back_to_top