काठमाडौं । आजकल बजारमा पाइने ४० लाखकै कारमा ‘लेदर’ सिट भनिन्छ । कतिले त भेगन लेदर सिट पनि भन्छन् । तर, यी लेदर पक्कै होइनन् ।
विश्वव्यापी रूपमा कार निर्माताको भनाइलाई हेर्ने हो भने थोरै मात्रै कार ब्राण्डले प्योर लेदर प्रयोग गरेर सिट बनाउँछन् । ती कारहरूको उत्पादन लागत नै ६० हजार डलर माथि पर्ने गर्छ ।
नेपाली बजारमा आएका १२ हजारदेखि २० हजार डलर मूल्यका गाडीमै ‘लेदरेट’ सिट भनिन्छ । के साँच्चै यी सबै लेदर नै हुन् त ? पक्कै होइनन् । खसगरी केही वर्ष अगाडिसम्म ५० लाख मूल्यसम्मका कारमा फेब्रिक सिट आउँथ्यो ।
विस्तारै रेग्जिन सिटहरू आउन थाले । रेग्जिनको क्वालिटी पनि विस्तारै सुधार हुँदै गयो । अहिले बजारमा रहेका अधिकांश कारमा त्यही सुधारिएको रेग्जिन पाउन सकिन्छ । ईभीको आयातसँगै सिटहरू लेदर भएका छन् । यी प्रायः सबै ‘लेदरेट’ हुन् । प्योर लेदर होइन ।
प्योर लेदरको स्रोत भनेकै पशुको छाला हो । विश्वभर पशु अधिकारमा ठूलो बहस चलिरहेको छ । पशुहरू वातावरणको चक्र संचालनको लागि निकै महत्वपूर्ण मानिन्छन् । यस्तोमा वार्षिक करोडौं युनिट कारको लागि छालाको व्यवस्था हुन सक्दैन । वातावरण बचाउन ईभी चढ्ने विषयसँगै लेदर सिटको बहस नै मिल्दो भएन ।
थोरै उत्पादन भएको कारण छालाको मूल्य पनि धेरै हुन्छ । निकै टिकाउ मानिने छालाहरू उच्च मूल्यका कारमा मात्रै प्रयोग हुँदै आएको छ । त्यो पनि लग्जरी कार निर्माताले मात्रै प्रयोग गर्छन् ।
हुन्डाई, जीप, फक्सवागेन, टोयोटा, निसान, होण्डा जस्ता ब्राण्डले आफ्ना अधिकांश मास मार्केट मोडलमा ‘लेदरेट’ सिट प्रयोग हुने जनाएका छन् । यसको मतलब यी सबै सिन्थेटिक हुन् ।

अहिले नेपालमा बिक्री हुने अधिकांश कारमा भनिएको ‘लेदरेट’ सेन्थेटिक लेदर हो । यसलाई धेरैले फक्स लेदर पनि भन्छन् । अझ सहज हुने गरी केही कम्पनीले पीयू लेदर पनि भन्छन् । यसबाट बनेका सिटहरू लेदर जस्तै देखिन्छन् । तर, प्योर लेदरको जस्तो टिकाउपन र अनुभव यसमा गर्न सकिँदैन ।
कुनै कुनै ब्राण्डले लेदर र सिन्थेटिक सामाग्री प्रयोग गरेर पनि सिट बनाउँछन् । उनीहरूले मानिस बस्ने भागमा प्योर लेदर र अन्य भागमा सेन्थेटिक प्रयोग गर्छन् । यो काम सेमी लग्जरी ब्राण्डहरूले गर्छन् ।
अहिले कम्पनीहरूले भनेको जस्तो ‘लेदरेट’ साँच्चै लेदर होइन । यी कृत्रिम लेदर हुन् । त्यही हो भेगन लेदर र प्रिमियम लेदरको अर्थ । केही देशले उपभोक्ता अधिकार कडाइका साथ लागू गरेको कारण त्यहाँ सिन्थेटिक नै भनेर बेचेको पाइन्छ । तर, नेपालमा कुनै कानुनी झन्झट नभएको कारण लेदर भनिन्छ ।
कसरी चिन्ने लेदर सिट
लेदर सिट चिन्न कठिन छैन । उत्पादक कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा कुन लेदरको सिट हो भनेर खुलाएको हुन्छ । बिक्रेताको वेबसाइटमा नहुन सक्छ । यदि, वेबसाइटमा १०० प्रतिशत जेन्युन लेदर लेखिएको छ भने त्यो साँचो हो ।
साँच्चै लेदरमा विशिष्ट प्राकृतिक गन्ध आउँछ । साथै, बनोटले पनि चिन्न सकिन्छ । यदि, सिन्थेटिक छ भने प्लास्टिकको गन्ध आउँछ । यदि, तपाईंको कार बजेट फ्रेण्डली हो भने त्यसमा लेदर सिट हुन सक्ने कुरै भएन ।

