रोयल इनफिल्डले नेपाल ल्याउँदै सस्तो मोटरसाइकल

काठमाडौं । रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटीभले क्लासिक ३५० भन्दा कम मूल्यको मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले आगामी नाडा अटो शो २०२३ मा नयाँ मोटरसाइकल ‘हन्टर ३५०’ ल्याउने भएको हो ।

अहिले क्लासिक ३५० रोयल इनफिल्डको सबैभन्दा सस्तो मोडल हो । क्लासिक ३५० को सुरुवाती मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्योभन्दा कम मूल्यमा हन्टर ३५० नेपाल आउने कम्पनी स्रोतले जानकारी दिएको हो ।

रोयल इनफिल्डले अहिले नेपालमा नै मोटरसाइकल एसेम्बल सुरु गरेको हो । एसेम्बल यूनिट संचालनमा आउनु र सरकारले २०० सीसी माथिका मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्क घटाउँदा मूल्य घटेको थियो । साथै, २५० सीसी माथि ४०० सीसीसम्मका मोटरसाइकलमा लगाइएको सडक निर्माण दस्तुरसमेत घटेको कारण रोयल इनफिल्डले ३५० सीसीको मोटरसाइकल ५ लाखभन्दा कम मूल्यमा बिक्री गर्न सफल भएको हो ।

यस्तो छ हन्टर ३५०

रोयल इनफिल्ड हन्टर ३५० भारतीय बजारमा तीन भेरियन्टमा उपलब्ध छ । नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने कुनै जानकारी प्राप्त भएको छैन । भारतमा भने हन्टर रेट्रो, हन्टर मेट्रोर र हन्टर मेट्रो रेवेल भेरियन्टमा पाउन सकिन्छ ।

हन्टर रेट्रो यसको वेस भेरियन्ट हो । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक पाउन सकिन्छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर मात्रै छ । यसका अन्य दुई भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोल, डबल च्यानल एबीएस पाउन सकिन्छ । वेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस मात्रै छ ।

रोयल इनफिल्डले हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिन दिएको छ । कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा दिइएको छ ।

हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४००० आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ ।

यसको मूल्य ४ लाख ७० हजार हारीहारी पर्ने अनुमान लगाउन सकिन्छ ।


Back_to_top