टीभीएसले एड्भेन्चर मोटरसाइकल ल्याउने

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक टीभीएसले एड्भेन्चर मोटरसाइकल उत्पादन गर्ने भएको छ । भारतीय बजारमा बढ्दो एड्भेन्चर मोटरसाइकलको मागलाई ध्यानमा राख्दै टीभीएसले ‘आरटीएक्स’ नामबाट ट्रेडमार्क दर्ता गराएको हो ।

मोटरसाइकल उत्पादकहरुले एड्भेन्चर मोडललाई ‘एक्स’ अक्षरले सम्बोधन गर्ने गरेका छन् । टीभीएसले पनि दर्ता गरेको नयाँ ट्रेडमार्कले आउने मोटरसाइकल एड्भेन्चर नै हुने संकेत गर्छ ।

नेपालमा अहिले होन्डा एक्सआर १९० एल, टेकन २५०, हिरो एक्सपल्स, बीएमडब्लू जी ३१० जीएस, यज्दी एड्भेन्चर, केटीएम ३९० एड्भेन्चर, रोयल इनफिल्ड स्क्र्याम ४११ जस्ता मोडल बिक्री हुँदै आएका छन् ।

अहिले टीभीएसले ३१३ सीसी क्षमताको इन्जिनमा आरआर ३१० बिक्री गर्दै आएको छ । यही इन्जिनमा बीएमडब्लू जी ३१० जीएस पनि उपलब्ध रहेको कारण टीभीएसको पहिलो एड्भेन्चर मोडल यही सेग्मेन्टमा हुने सहजै अनुमान लगाउन सकिन्छ ।

सम्भवत टीभीएसले अहिले बिक्री भइरहेको बीएमडब्लू जी ३१० जीएसमा केही परिमार्जन गरेर एड्भेन्चर मोडल बजारमा ल्याउने छ । जी ३१० जीएसमा रहेको ३१३ सीसी क्षमताको इन्जिनले अधिकता ३३.५२ ब्रेकहर्स पावर र २८ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ ।

टीभीएसले आफ्नो दोस्रो मोडल भने अपाचे आरटीआर २०० फोर भीमा आधारित रहेर बजारमा ल्याउने अनुमान गरिएको छ । कम्पनीले कुन मोटरसाइकल कसरी बजारमा ल्याउँछ, त्यो हेर्न भने अझै केही समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top