बन्यो हाइड्रोजन सेलको प्रयोगबाट उड्ने कार

अमेरिकाको दक्षिण क्यालीर्फोनियामा हाइड्रोजन सेलबाट चल्ने विश्वकै पहिलो उड्ने गाडीको अनावरण गरिएको छ । बिएमडब्लु ग्रुपको डिजाइन स्टुडियो बाहिर सार्वजनिक गरिएको यो भविष्यमुखी यन्त्रको नाम ‘स्काई’ राखिएको छ । यो प्रर्दशन उक्त यन्त्रका लगानीकर्ताहरुका लागि गरिएको थियो । 

अल्काइज टेक्नोलोजी नाम गरेको एक निजी कम्पनीले यो गाडीलाई बनाएको हो ।

अत्यन्तै धेरै ट्राफिक जाम हुने सहर भनेर चिनिने क्यालीर्फोनियामा शुन्य कार्वन उत्र्सजन गर्ने यो उड्ने गाडीले धेरै समस्या समाधान गर्ने विश्वास निर्माता कम्पनीले गरेको छ । 

पछिल्लो समय प्रदुषण शुन्य भएका कारण हाइड्रोजन फिउल सेलले विश्वभरिका गाडी निर्माता कम्पनीहरुको ध्यान आकृष्ट गर्न थालेको छ । चीन सरकारले त झन् इभी गाडीहरुलाई दिदैं आएको अनुदान समेत हाइड्रोजन फिउल सेलको अध्ययन र अनुसन्धान तर्फ मोडेको छ । 

क्यालीर्फोनियामा बनेको यो उड्ने गाडीको रुप पाँच सिटे एसयुभी जस्तै देखिन्छ । आकार भने मिनी भ्यानको जत्रो छ ।  

कम्पनीले गाडीलाई छिट्टै परिक्षण उडानको लागि ग्रामीण क्षेत्रमा लैजाने बताएको छ । 

कम्पनीले २०२१ सम्ममा गाडी सर्वसाधारणको पहुँचमा पुग्ने जनाएको छ । बार्षिक १० हजार गाडी निर्माण गर्ने लक्ष्य लिएको कम्पनीले मूल्य भने कुनै बिलासी गाडी सरह हुने उल्लेख गरेको छ । यो गाडी आकस्मिक मेडिकल सेवा, ट्याक्सी वा अन्य यात्रु वाहक र कार्गोको लागि प्रयोग हुने बताइएको छ ।  

गाडीलाई ६ वटा हाइड्रोजन फिउल सेलद्धारा उर्जा सञ्चार गरिन्छ । र, प्रत्येक फिउल सेलमा फरक फरक मोटर इन्जिनसँग जोडिन्छन् । गाडीको रेञ्ज ३०० माइल रहने छ ।

सुरक्षाको कुरा गर्दा, गाडीमा अटो पाइलट प्रणाली जडित छ । र, प्यारासुट पनि उपलब्ध हुनेछ । नियामक निकायले पाइलट अनिवार्य गरेको अवस्थामा बाहेक गाडीको लागि पाइलट आवश्यक नपर्ने र पुर्व–निर्धारित प्रोग्रामका आधारमा दिइएको निर्देशन अनुसार चल्ने बताइएको छ । 


Back_to_top