क्रेटा ईभी बजारमा आउने मिति घोषणा

सांकेतिक तस्बिर

काठमाडौं । हुन्डाईको पहिलो भारतीय इलेक्ट्रीक भेहिकल क्रेटा ईभीको लन्चिङ हुने मिति बाहिर आएको छ । कम्पनीले आगामी वर्षको पहिलो महिनामै भारतबाट यसको बिक्री सुरु गर्ने भएको हो ।

कम्पनीको यस योजनालाई हुन्डाई मोटर इन्डियाका सीईओ तरुन गर्गले पुष्टि गरेका हुन् । उनले भने, ‘सन् २०२५ को जनवरी २५ मा लन्च गर्ने गरी काम भइरहेको छ । यसको उत्पादन भने २०२४ को अन्तिम महिनाबाट सुरु हुनेछ ।’

हुन्डाईले क्रेटा ईभी भारतका विभिन्न सहरहरुमा परिक्षण गर्दै आएको छ । भारत बाहिर दक्षिण कोरिया लगायतका देशमा समेत यसको परीक्षण भइरहेको तस्बिरहरु बाहिर आएका छन् ।

आगामी वर्ष भारतमा हुन्डाई र सुजुकीले एउटै सेग्मेन्टमा क्रेटा र इभीएक्स बजारमा ल्याउने भएका हुन् । यी दुई मोडललाई टक्कर दिन टाटाको कर्भ ईभी समेत बजारमा आउने छ ।

हुन्डाईको क्रेटा ईभी हालै फेसलिफ्ट भएको क्रेटासँग धेरै कम्पोनेन्टहरु मिलेको देखिन्छ । तर, इलेक्ट्रीक भेहिकल भएकाले यसमा केही यूनीक आइडेन्टीटीसँगै डिजाइनमा पनि परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ ।

भारतमा उत्पादन हुने क्रेटा ईभीमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । फ्रन्ट एक्सलमा हुने उक्त मोटरले अधिकतम १३८ हर्सपावर र २५५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

कम्पनीले यसमा ४५ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ । यसको चार्जिङ पोर्ट कोनोको जस्तै फ्रन्टमा रहनेछ । यसले सिंगल चार्जमा ३०० किलोमिटर माथि रेन्ज प्रदान गर्नेछ ।


Back_to_top