हुन्डाई क्रेटाका धेरै प्रतिस्पर्धी आए, तर टिक्न सकेनन्

काठमाडौं । स्पोर्टस् यूटिलिटी भेहिकल (एसयूभी) सुन्दा जसरी गज्जब सुनिन्छ, व्यवहार त यी कारको पर्फमेन्स ठीकठाक रहेको पाइन्छ । यो सेग्मेन्ट नेपालमा पनि निकै सफल मानिन्छ ।

महिन्द्रा स्कर्पियो छाडेर यो सेग्मेन्टमा उपलब्ध हुन्डाई क्रेटालाई टक्कर दिन किया सेल्टोस, निसान किक्स, रेनो डस्टर, रेनो क्याप्चर, निसान टेरानो, स्कोडा कुशक, फक्सवागेन टाइगुन, एमजी जेडएस, हाभल जोलाइन, प्रोटोन एक्स ५० जस्ता मोडल बजारमा आए । केही मोडल अहिले पनि धेरै माग र राम्रो संख्यामा विक्री हुँदै आएका छन् । केही बन्द भए ।

मूल्यका हिसाबले करीब ४० लाखदेखि ७५ लाख रुपैयाँसम्म मूल्य रहेका यी एसयूभी नेपालमा सर्वाधिक रुचाइएको मध्य एक सेग्मेन्टमा आएका हुन् । जहाँ महिन्द्रा स्कर्पियो पनि अटाउँछ ।

महिन्द्रा स्कर्पियो यसमा रहेको फोर ह्वील ड्राइभ अप्सनको कारण धेरै चर्चा बटुल्न र विक्री गर्न सफल भएको मोडल हो । यो सेग्मेन्टको दरिलो र बलियो मोडल सन् २०१६ मा नेपाल आएको हुन्डाई क्रेटा अहिले पनि सर्वाधिक सफल रहेको छ । सुरूमा नेपाल आउँदा सबैको चाहना क्रेटासँग प्रतिस्पर्धा गर्ने पाइन्छ ।

कम्प्याक्ट एसयूभीको ‘टर्निङ प्वाइन्ट’

नेपालमा सन् २०१४ सम्म एसयूभी क्रेज बढेको थिएन । एसयूभी भन्ने बित्तिकै मित्शुबिसी, टोयोटा र निसानका गाडी भन्ने सोचलाई फोर्डको एउटै मोडलले परिवर्तन ल्यायो ।

भारतमा सन् २०१३ मा विक्री सुरू भएको इकोस्पोर्टको सफलताले धेरै कम्पनीलाई लोभ्यायो । यसलाई हेरेरै फियातले एभेन्चुरा, टोयोटाले इटियोस क्रस जस्ता मोडल बजारमा ल्याए । यी दुवै मोडल पूर्णतः असफल भयो । दुवै ब्राण्डले यी गाडीको उत्पादन बन्द गरे ।

सन् २०१५ मा हुन्डाईले माथि चर्चा भएको भन्दा ठूलो साइज (कम्प्याक्ट) एसयूभी बनायो हुन्डाई क्रेटा । क्रेटाको सफलता यहाँ चर्चा गर्नु पर्दैन होला । हामी सबैले प्रत्यक्ष देखेकै छौं ।

क्रेटा नेपाल आएपछि बजारमा यो सेग्मेन्ट निकै चर्चामा आयो । भारतमा पनि यसको उच्च माग रहेको थियो । त्यसपछि विभिन्न ब्राण्डका धेरै मोडल आए । तर, क्रेटाको अगाडि टिक्न सकेनन् । क्रेटालाई राम्रो प्रतिस्पर्धा हुन्डाई मोटर ग्रुपकै किया सेल्टोसले दियो । सन् २०१९ मा बजारमा आएको सेल्टोस अहिले पनि निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ ।

त्यसैगरी, पछिल्ला दिनमा नेपाल आएका स्कोडा कुशक र फक्सवागेन टाइगुनले पनि राम्रै व्यापार गरिरहेका छन् ।

थपिँदै प्रतिस्पर्धी

भारतीय बजारमा यो सेग्मेन्टमा टोयोटादेखि टाटासम्मले आफ्नो योजना प्रस्तुत गरेका छन् । टोयोटाले अर्वान क्रुजर हाइराइडर र मारुती सुजुकीले ग्राण्ड भिटारा बुकिङ सुरू गरेका छन् । यहि महिना यी दुवै ब्राण्डले क्रेटाको प्रतिस्पर्धी मोडल बजारमा ल्याउँदै छन् । टाटाले ब्ल्याकवर्ड कन्सेप्टलाई ल्याउँदै छ ।

त्यसैगरी, एमजीले पनि भारतमा क्रेटाको सेग्मेन्टमा एस्टर एसयूभी विक्री गर्दै आएको छ । एमजी एस्टर पनि भदौमा हुने नाडा अटो शो २०२२ मा नेपाल आउने छ । साथै, होन्डाले पनि यो सेग्मेन्टमा आरएस कन्सेप्टलाई बजारमा ल्याउने जनाएको छ ।

नेपालमा अहिले पनि यो सेग्मेन्टमा सर्वाधिक विक्री हुने क्रेटा नै हो । धेरै प्रतिस्पर्धी आए, विस्तारै दौडमा पछि परे ।


Back_to_top