काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल निर्माता हुन्डाईले आफ्नो नयाँ इलेक्ट्रीक ह्याचब्याक ‘आयोनिक ३’ सार्वजनिक गरेको छ ।कम्पनीले मिलान डिजाइन विक २०२६ मा आयोनिक ३ सार्वजनिक गरेको हो ।
हुन्डाईले आयोनिक ३ लाई अल इलेक्ट्रीक लाइन अपमा इन्स्टर ईभी र कोना इलेक्ट्रीकको बीचकाे लाइनअपमा राखेर बजारमा ल्याएको हो । आयोनिक ३ सबैभन्दा पहिले युरोपियन बजारमा बिक्री सुरू हुनेछ भने सन् २०२७ को सुरूवातदेखि अस्ट्रेलियामा पनि उपलब्ध हुनेछ ।
नयाँ हुन्डाई आयोनिक ३ लाई ‘एरो ह्याच’ ढाँचामा डिजाइन गरिएको छ। यसको बनावट विशेषगरी हावाको अवरोध कम गर्न र भित्री भागमा पर्याप्त ठाउँ उपलब्ध गराउन मिलाइएको छ। यसको ‘ड्रयाग कोफिसेन्ट’ ०.२६३ रहने अपेक्षा गरिएको छ । जुन यस श्रेणीका गाडीहरूमा उत्कृष्ट मानिन्छ ।
हुन्डाईको आर्ट अफ स्टील डिजाइन ल्याङग्वेजमा बनेको आयोनिक ३ मा चारैतिर शार्प बडी प्यानलिङ छ । पिक्सेल स्टाइलको इलामेन्ट, मोर्स कोडमा चार डट ‘एच’ लोगो र आकर्षक बोनट छ । एन लाइन भेरियन्टमा स्पोर्टी ब्ल्याक आउट बम्परहरू र विशेष एन लाइन ब्याजिङ छ ।

आयोनिक ३ मा गोलाकार ह्वील आर्चहरू, स्पोर्टी अलोय ह्वीलहरू, फ्लश डोर ह्याण्डलहरू, ब्ल्याक आउट ओरआरभीएम हरू र ब्ल्याक आउट ए र बी पिलरहरू छन् । यसमा शार्क फिन एन्टेना, डुअल टोन रुफ, पछाडिको स्पोइलर र पछाडिको डिफ्युजर समावेश छन् । हुन्डाईले भेरियन्ट अनुसार १६ देखि १९ इन्चको ह्वील दिएको छ ।
आयोनिक ३ को लम्बाइ ४१५५ एमएम् र ४१७० एाएम छ । यसको चौडाइ १८०० एमएम र उचाइ १५५० एमएम छ । यो गाडी कियाको ईभी २, ईभी ३, ईभी ४ र ईभी ५ मोडेलहरूमा प्रयोग गरिएको इलेक्ट्रीक प्लेटफर्म र चार्जिङ आर्किटेक्चरमा आधारित छ । कम्पनीले यसलाई ड्राइभिङ दक्षता, रेन्ज र चार्जिङ क्षमताको सन्तुलित सम्मिश्रणका रूपमा तयार गरेको बताएको छ ।
आयोनिक ३ मा ४२.२ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध छ । जसले क्रमशः ३४४ किलोमिटर र ४९६ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १०७.८ किलोवाट आवरको फ्रन्ट ह्वील ड्राइभ इलेक्ट्रीक मोटर छ । जसले २५० न्युटन मिटर टर्क प्रदान गर्छ ।

यसको दुवै ब्याट्रीले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले २९ देखि ३० मिनेटमा ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्नेछ । यसको अधिकतम स्पीड प्रतिघण्टा १७० किलोमिटर छ ।
यस गाडीमा पहिलो पटक ‘प्लिओस कनेक्ट’ इन्फोटेनमेन्ट सिस्टम प्रयोग गरिएको छ । जुन एन्ड्रोइड अटोमोटिभ ओएसमा आधारित छ। यसमा १२.९ इन्च वा १४.६ इन्चको डिस्प्ले अप्सन छ ।
यसमा भेहिकल टु लोड सुविधा पनि उपलब्ध छ । जसबाट अन्य विद्युतीय उपकरण चलाउन सकिन्छ। साथै, हुन्डाई डिजिटल की २ मार्फत स्मार्टफोन वा स्मार्टवाचबाटै गाडी लक/अनलक गर्न सकिनेछ।
आयोनिक ३ मा ४४१ लिटरको बुट स्पेस रहेको छ । यसको लामो ह्वीलबेस र फ्ल्याट फ्लोर बनावटका कारण भित्र खुट्टा राख्न र बस्न निकै फराकिलो ठाउँ उपलब्ध हुनेछ ।

