काठमाडौं । हुन्डाई मोटर्सको इन्ट्री लेभल एसयूभी एक्सटर बिक्री सुरू भएको एक वर्ष पुरा भएको छ । कम्पनीले बिक्री सुरू गरेको पहिलो एक वर्षमा करिब एक लाख यूनिट उत्पादन र बिक्री पुरा गर्न लागेको हो ।
सन् २०२३ जुलाई १० तारिखमा बिक्री सुरू भएको एक्सटर माइक्रो एसयूभीको मूल्य ५ लाख ९९ हजार भारतीय रुपैयाँदेखि सुरू भएको थियो । कम्पनीले अहिलेसम्म ९३ हजार ६६२ यूनिट एक्सटर भारतमा बिक्री गरिसकेको छ ।
एक्सटरले एक वर्षको अवधिमा हुन्डाईले बिक्री गरेको कुल एसयूभीको १८ प्रतिशत बजार हिस्सा ओगटेको छ । चार मिटरभन्दा छोटो एसयूभीलाई हुन्डाईले भेन्यूभन्दा तल राखेर बिक्री गर्दै आएको हो । मूल्य र फिचरको हिसावले एक्सटरले भारतमा टाटा पन्च, सुजुकी फ्रङ्कस्, सिट्रोन सीथ्री, निसान म्याग्नाइट र रेनो काइगर जस्ता बजेट कारसँग प्रतिस्पर्धा गर्दै आएको छ ।
एक वर्ष पुरा भएको अवसरमा हुन्डाईले युवा उपभोक्ताको आवश्यकता र रुची अनुसार एक्सटरलाई नाइट एडिशनको रुपमा पनि सार्वजनिक गरेको छ । नेपाली बजारमा पनि एक्सटर केही महिनादेखि बिक्री हुँदै आएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको एक्सटर एसयूभी विभिन्न तीन भेरियन्टमा उपलब्ध छ । यसको ईएक्स भेरियन्टको मूल्य ३५ लाख ९६ हजार, एस भेरियन्टको मूल्य ४१ लाख ९६ हजार र एसएक्स भेरियन्टको मूल्य ४५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।