काठमाडौं । हुन्डाई कोनाको फेसलिफ्ट नेपाल आएको छ । कम्पनीले नेपाल ल्याएको नयाँ कोनामा मुख्य ५ परिवर्तन देख्न सकिन्छ ।
कम्पनीले इन्टेरियर र एक्सटेरियरमा परिमार्जन सहित ल्याएको कोना पहिलेको तुलनामा थप आकर्षक देख्न सकिन्छ ।
अन्तर्राष्ट्रिय अटोमोवाइल बजारमा नै कम मूल्यमा प्रिमियम इलेक्ट्रीक कार खोज्ने ग्राहकको चाहना पुरा गर्दै आएको कोना यस अघिको मोडल भन्दा ३ लाख रुपैयाँ मूल्य बढेर नेपाल आएको छ । यसरी मूल्य बढ्नुको पछाडि गाडीमा भएका फिचर थप नै मुख्य कारण रहेको आयातकर्ता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

कम्पनीले नयाँ कोनाको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यस्तोमा नयाँ कोनामा भएका मुख्य ५ परिवर्तन जान्नु उपयुक्त हुन्छ ।

१. एक्सटेरियरमा परिवर्तनः कोनाको अगाडि भागमा पूर्ण परिवर्तन गरिएको छ । कम्पनीले ट्राइवीम हेडल्याम्प, स्लीकर एलइडी डेटाइम रनिङ लाइट, रि-डिजाइन टेलल्याम्प जस्ता फिचर प्रदान गरेर यसको लुक्सलाई फ्रेस बनाएको छ ।

२. नयाँ अलोय ह्वीलः गाडीको लुक्समा ह्वीलको महत्व सबैभन्दा धेरै हुन्छ । कम्पनीले यसमा नयाँ अलोय ह्वील दिएको छ । इलेक्ट्रीक फ्यान घुम्दा देखिने आकृतिमा बनेको अलोय ह्वीलले गाडीको सुन्दरता थप गरेको छ ।


३. ड्राइभिङ मोडः कोनामा तीन फरक ड्राइभिङ मोड उपलब्ध रहेको छ । कम्पनीले इको, नर्मल र स्पोर्टस् मोडसहित यसलाई बजारमा ल्याएको हो । ड्राइभिङ मोड अनुसार कलर परिवर्तन हुने नयाँ इन्ट्रुमेन्ट क्लष्टर, यसअघिको ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमलाई परिवर्तन गरी ८ इन्चको फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।

४. रिमोर्ट किः हुन्डाईले कोनामा दिएको साँचो नयाँ बनाइएको छ । उक्त साँचो हातमा लिएर बाहिर बाटै गाडी स्टर्ट गर्न सकिन्छ ।

५. सनरुफः पछिल्लो दिनमा ३५ देखि ४० लाख मूल्यको कारमा नै सनरुफ पाउने भएपनि कोनामा सनरुफ दिएको थिएन । तर, कम्पनीले नयाँ कोनामा भने सनरुफ दिएको छ । यसले सनरुफ चाहनेहरुलाई खुसी बनाउने छ ।

