काठमाडौं । भारतीय अटो कम्पनी टीभीएसले आफ्नो छुट्टै इलेक्ट्रीक प्लान्ट स्थापना गर्ने भएको छ । कम्पनीले करिब १२ अर्ब भारतीय रुपैयाँ लगानी गर्दै तामिलनाडु राज्यमा नयाँ प्लान्ट स्थापना गर्ने भएको हो ।
कम्पनीले तमिलानाडु सरकारसँग समेत प्लान्ट लगानका लागि सम्झौँता गरिसकेको जनाइएको छ । भारतमा हालै मात्र ओला, सिम्पल वान जस्ता कम्पनीहरु इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन उत्पादनमा आएका छन् । यस्तोमा चल्तीका ब्राण्डलाई थप लगानी गर्न बाध्यता बनेको छ ।
टीभीएसले लगाउने नयाँ प्लान्ट सबैभन्दा सुविधासम्पन्न र धेरै उत्पादन क्षमताको हुने बताइएको छ । टीभीएस मोटर्सले आगामी ४ वर्षमा इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर र टेक्नोलोजीमा अग्रणी बन्ने योजना सहित थप लगानी गर्न लागेको हो ।
अहिले टीभीएससँग एउटा मात्रै इलेक्ट्रीक स्कुटर रहेको छ । कम्पनीले गत वर्ष जनवरीमा सार्वजनिक गरेको इलेक्ट्रीक स्कुटरले बजाज चेतक र एथर ४५० एक्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
गत सेप्टेम्वरमा कम्पनीले आइक्युव स्कुटर ७६६ यूनिट विक्री गरेको थियो । हाल टीभीएस आइक्यूव भारतको ३३ सहरमा विक्री भइरहेको छ ।

