काठमाडौं । जापानी अटोमोवाइल उत्पादक टोयोटाले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको सेमी प्रोडक्सन मोडल सार्वजनिक गरेर अबको दिन इलेक्ट्रीक कार भएको पुष्टी गरेको छ । टोयोटा यसअघि हाइब्रिड टेक्नोलोजी र फ्यूलसेल टेक्नोलोजीमा केन्द्रित रहेको थियो ।
टोयोटा ‘बीजेड४एक्स’ नामबाट आउने पहिलो इलेक्ट्रीक कार निकै प्रिमियम देखिएको छ । यसलाई कम्पनीले टोयोटाको लिगेसीलाई ध्यानमा राखेर तयार गरेको देखिन्छ । सम्भवत टोयोटाले ‘बीजेड’ सब ब्राण्डमा इलेक्ट्रीक कार बजारमा ल्याउने छ ।
टोयोटाले यसको लागि सुबारु कर्पोरेसनसँग सहकार्य गरेको छ । कम्पनीले आफ्नो इलेक्ट्रीक एसयूभीमा पनि अफरोड क्षमता प्रदान गर्ने जनाएको छ । सम्भवत यसमा टोयोटाले बीवाइडीले उत्पादन गर्ने व्याट्रीको प्रयोग गर्नेछ । त्यस विषयमा भने कुनै आधिकारीक जानकारी दिइएको छैन ।

बीजेड४एक्समा ७१.४ किलोवाट आवरको ब्याट्री दिनेछ । उक्त व्याट्रीलाई एक पटक फुल चार्जगर्दा ५०० किलोमिटरसम्म चलाउन सकिन्छ । टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टममा आउने बीजेड४एक्समा सिंगल मोटर १५० किलोवाट र अल ह्विल ड्राइभमा ३२० किलोवाटको मोटर समावेश गरिएको छ ।
टोयोटाले ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न मिल्नेगरी यसलाई तयार गरेको छ । त्यसको लागि डिसी चार्जर भने १५० किलोवाट क्षमताको हुनुपर्छ ।


