काठमाडौं । जनवरी २०२२ को अवसर पारेर टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले माइक्रो एसयूभी पन्च नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले ल्याउने माइक्रो एसयूभी नेपालमा नयाँ सेग्मेन्टमा उपलब्ध हुनेछ ।
भारतमा विक्री सुरु भएको केही दिनमा नै टाटाको सर्वाधिक विक्री हुने दोस्रो मोडल बनेको पन्च नेपालमा पनि धेरै ग्राहकले प्रतिक्षा गरिरहेको मोडल हो ।
टाटाले यसको विक्री सुरु भएसँगै ग्लोवल एनक्याप क्र्यास टेष्ट गराएको थियो । उक्त परिक्षणमा पन्चले ५ स्टार सेफ्टी रेटिङ पाएको छ । योसँगै पन्च सुरक्षाको हिसावले पनि उत्कृष्ट माइक्रो एसयूभी बन्न सफल भएको छ ।
‘हामीले जनवरीमा नेपाल ल्याउन तयारी गरेका छौं, अहिल्यै सबै काम सकिएको छैन । संभवत जनवरीमा नेपाल आउने छ’, सिप्रदी स्रोतले मोरोअटोसँग भन्यो ।
भारतमा विभिन्न ४ भेरियन्टमा विक्री सुरु भएको पन्च म्यानुयल र अटोमेटीक गियरबक्समा उपलब्ध हुनेछ । म्यानुयल भेरियन्ट पेयोर, एड्भेन्चर, एकभलिष्ट र क्रिएटीभ भेरियन्टमा पन्च उपलब्ध रहेको छ ।
त्यसैगरी पन्च अटोमेटीक भेरियन्टमा पनि पेयोर, एड्भेन्चर, एकभलिष्ट र क्रिएटीभमा उपलब्ध रहेको छ । नेपाल कुन कुन भेरियन्ट आउँछ भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।
माइक्रो एसयूभी भएपनि डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षित कार भएको कारण यसको विक्री भारतमा निकै राम्रो संख्यामा भइरहेको छ ।

यसमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
टाटा पन्चको डोर ह्याण्डल पिलरमा दिइएको छ । निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर, पुस बटम स्टार्टरस्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।
नेपाली बजारमा पन्चको मूल्य २८ लाख ५० हजारदेखि ४६ लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।

