काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र अटो पत्रकार संघ (जाम) बीच अन्तक्र्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । हालै, पुनर्गठित अटो पत्रकार संघ र नाडाको बीचमा विद्यमान अटो क्षेत्रका समस्या र पत्रकारको भूमिकाको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई पत्रकार र व्यवसायीलाई स्वागत गर्दै नाडाका महासचिव सुनिल रिजालले अटो क्षेत्रका समस्या सरोकारवाला निकायसम्म पुर्याउन पत्रकारको भूमिका बलियो हुने र त्यो काममा जाम नेपाल सदैब सक्रिय होस् भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा जामको उत्पत्ती, विकास, अबधारणा र भावी योजनाको बारेमा बोल्दै अध्यक्ष उज्वल जंग शाहले अटो सेक्टर जीवन र अर्थतन्त्र दुबैको मेरुदण्ड भएकाले हरेक नागरिकसँग प्रत्यक्ष सरोकार रहने बताए ।
पत्रकारहरुका संस्था धेरै भएता पनि अटोमोबाइलमा काम गर्ने पत्रकारहरुका लागि भने व्यवस्थित संस्था नभएको र हरेक वर्ष अटो सेक्टरमा नीतिगत परिवर्तन हुने समस्या औल्याउँदै जाम नेपालका महासचिव सागर गजुरेलले भने, ‘अटो सेक्टरमा रहेर कलम चलाउने हरेक पत्रकारहरुको लेखन शैलीको वृद्धि विकासमा लगानी गर्नु पर्ने छ । त्यसको लागि नाडा ठूलो माध्यम हुन सक्छ ।’
कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले देशको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए । सवारी साधनको चाप अनुसार सडकहरु नबनेको बताउँदै उनले व्यवसायी र पत्रकारहरुले सडकको स्तरउन्नतिसहित पूर्वाधार विकासमा सरकारलाई सकारात्मक दबाब दिनुपर्ने बताए ।
अहिले नाडा केन्द्रमा मात्र सीमित नभएर सातै प्रदेशमा छरिएर रहेको बताउँदै प्रदेशको तर्फबाट बोल्दै नाडा केन्द्र समितिका सदस्य तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबू खड्काले जामलाई नयाँ कार्यकालको शुभकामना दिदै पत्रकारले व्यवसायीको बारेमा र प्रोडक्सहरुको बारेमा उपभोक्ता माझ बिगतमा जस्तै राम्रोसँग अझै बिस्तृत रुपमा पुर्याउने अपेक्षा गरे ।
नाडाका उपाध्यक्ष करण चौधरीले कुनै पनि व्यक्तिको ईमेज बनाउन र बिगार्न सक्ने सबैभन्दा ठूलो शक्ति पत्रकारको कलममा मात्र हुने भएकाले अटो सेक्टरमा कलम चलाउने पत्रकारले यो क्षेत्रको विकास र विस्तारमा ठूलो भूमिका खेल्ने बताए । कार्यक्रमको सहजीकरण भने नाडाका सचिव अनुप बरालले गरेका थिए ।
जाम नेपालमा अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष सुरेन्द्र पौडेल, महासचिव सागर गजुरेल, सचिव तोयनाथ पौडेल, कोषाध्यक्ष रोशन कुमार श्रेष्ठ, सदस्यहरु सौरभ नेपाल, प्रयास श्रेष्ठ, रामशरण न्यौपाने (शक्ति), वसन्त अर्याल, युवराज बस्नेत, उज्वल घिमिरे रहेका छन् ।

