नेपाल आयो हुन्डाईको नयाँ कोना इलेक्ट्रीक, यस्तो छ मूल्य

काठमाडौं । हुन्डाईको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना इलेक्ट्रीकको फेसलिफ्ट मोडल नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय बजारमा तीन महिना अघि विक्री सुरु भएको फेसलिफ्ट कोना नेपाल आएको हो ।

नेपालमा यसको आधिकारी विक्री सुरुवात आगामी हप्ताबाट हुने कम्पनी स्रोतले जानकारी दिएको छ । सन् २०१८ देखि नेपालमा विक्री हुँदै आएको कोना प्रिमियम क्रसओभर मोडल हो । अन्तर्राष्ट्रिय बजारमा थुप्रै अवार्ड जित्न सफल कोना पृथक डिजाइन र आकर्षक कलर भेरियन्टको कारण पनि चर्चामा रहँदै आएको मोडल हो ।

दक्षिण कोरियाली मोटर उत्पादक कम्पनी हुन्डाईले सन् २०१७ देखि उत्पादन गर्दै आएको कोना वातावरणमैत्री भएकै कारण विश्व बजारमा सफल भएको हो । हुन्डाईले नयाँ कोनाको फ्रन्ट फेसिकामा व्यापक परिमार्जन गरेको छ भने भित्री भागलाई थप आकर्षक बनाएको छ । तर, यसमा दिइएको व्याट्री र मोटर साइजमा भने कुनै परिवर्तन गरेको छैन । अहिले पनि कोना ३९.२ र ६४ किलोवाट आवरको व्याट्री अप्सनमा उपलब्ध रहेको छ ।

अहिले विक्री भइरहेको कोनाको तुलनामा नयाँ मोडलमा अगाडिको ग्रिल प्यानल परिवर्तन गरिएको छ । साथै यसमा दिइएको हेडलाइट पनि रिडिजाइन गरिएको देख्न सकिन्छ । फरक किसिमको मसिनो एलइडी डे टाइम रनिङ लाइट र पछाडिको लाइटमा पनि परिवर्तन पाउन सकिन्छ ।

गाडीको भित्री भागमा झट्ट देखिने इन्फोटेन्टमेन्ट सिस्टमको साइज ठूलो बनाइएको छ । अहिले नेपालमा विक्री भइरहेको कोनामा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध छ तर, नयाँ मोडलमा ८ इन्च बनाइएको छ । हुन्डाईको व्ल्यू लिङ्क कनेक्टीभीटी यसमा पाउन सकिन्छ । यसबाट भ्वाइस कमाण्ड, रिमोर्ट चार्जिङ, रिमोट क्लाइमेट कन्ट्रोलको प्रयोग गर्न सकिन्छ । नयाँ कोनामा सुरक्षा फिचरपनि थप गरिएको छ ।

यसअघिको रेगुलर मोडलको सुरुवाती मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको थियो । तर, नयाँ कोनाको सुरुवाती मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top