डलरको मूल्य बढेसँगै हुन्डाई कोनाको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । डलरको एक्सजेन्ज रेट महंगो बन्दा गाडीको मूल्य बढ्न थालेको छ । विभिन्न कम्पनीले उपलब्ध गराउँदै आएको विद्युतीय गाडी र तेस्रो मुलुकबाट आउने कम्बस्चन गाडीको मूल्य बढ्ने भएको हो ।

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको हुन्डाई कोना ईभीको मूल्य २ लाख ५० हजार रुपैयाँसम्मले बढेको छ । कम्पनीले दुई भेरियन्टमा उपलब्ध गराएको कोनाको नयाँ मूल्य जीएल भेरियन्टको ६० लाख ५६ हजार र जीएलएस भेरियन्टको ६२ लाख ९६ हजार निर्धारण गरिएको छ ।

हुन्डाईले विक्री गर्दै आएको कोना इलेक्ट्रीक कोरियाबाट सिधै आयात हुँदै आएको मोडल हो । कम्पनीले यसअघि कोना जीएलको मूल्य ५७ लाख ९६ हजार र जीएलएसको मूल्य ६० लाख ९६ हजार तोकेर विक्री गर्दै आएको थियो ।

‘पहिला मूल्य कायम गर्दा प्रति डलर ११८ डलरको एक्स्चेन्ज रेटको हिसावले गरिएको थियो । अहिले छुटाउँदा १२८ सम्म पुगेको छ । यसले मूल्यमा ६ प्रतिशतको असर गरेको कारण मूल्य बढाउनु परेको हो’, लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले मेरोअटोसँग भन्यो ।

हुन्डाई कोना इलेक्ट्रीकमा १०० किलोवाट क्षमताको मोटर रहेको कारण बजेटले विद्युतीय कारमा कर लगाउँदा यसलाई असर परेको थिएन । जसको कारण कोना अहिले पनि उक्त मूल्यमा उपलब्ध हुँदै आएको छ । कोरियन कार निर्माताले बनाएको इलेक्ट्रीक क्रसओभर सन् २०१८ मा नेपाल आएदेखि नै एउटै रफ्तारमा विक्री हुँदै आएको इलेक्ट्रीक कार हो ।


Back_to_top