४० भन्दा धेरै मोडलका मोटरसाइकलमा लाग्यो प्रतिबन्ध

काठमाडौं । सरकारले आयातमा थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै बजारमा चल्तीका मोटरसाइकल आयात ठप्प हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी भदौ १४ गतेसम्मको लागि आयातमा प्रतिबन्ध लगाएसँगै १५० सीसी माथिका मोटरसाइकलको आयात रोकिने भएको हो ।

मन्त्रालयले आज राजपत्रमा एक सूचना प्रकाशित गर्दै आयात प्रतिबन्ध लम्बाएको हो । विदेशी मुद्रा संचितमा आएको गिरावट र विश्वब्यापी आर्थिक संकटको संकेतहरु देखापरेसँगै नेपालले सुरुवातदेखि नै आयात कटौती गर्दै आएको थियो ।

नेपालमा सर्वाधिक सवारीसाधन विक्री चाडपर्वको सिजनमा हुने गरेको थियो । त्यसैलाई रोक्न सरकारले १५० सीसी माथिका मोटरसाइकलमा पनि प्रतिबन्ध लगाएको हो । यसअघि २५० सीसी माथिका मोटरसाइकल मात्रै प्रतिबन्ध लागेको थियो । सरकारी प्रतिबन्धसँगै बजाजमा सर्वाधिक चल्तीमा रहेका मोटरसाइकलको आयात रोकिने भएको हो । यसरी आयात प्रतिबन्धमा पर्ने ४० भन्दा बढी मोडल रहेका छन् ।

कुन ब्राण्डको अवस्था के ?

बजाजले नेपालमा विक्री गर्ने पल्सर एनएस १६० र २००, एभेन्जर १६० र २२०, पल्सर २२० एफ र डोमिनार २५० को पनि आयात रोकिएको छ । अब बजाजले डिस्कभर, पल्सर १२५ र १५०, प्लाटिना मोडल मात्रै आयात गर्न सक्ने छ ।

यामाहाको पनि ठूला मोडलको आयात रोकिएको छ । यामाहा आर१५, आर१५ एम, एमटी १५, एफजेड २५ जस्ता मोडलको आयात रोकिएको छ । यामाहाको सर्वाधिक सफल एफजेडएस र एफजेड सिरिजका १५० सीसी कमका सबै मोडल आयात हुनेछन् ।

त्यसैगरी टीभीएसको पनि अधिकांश चर्चित मोडलको आयात रोकिएको छ । टीभीएसले विक्री गर्ने अपाचे आरटीआर १६० सिरिजका सबै मोटरसाइकल प्रतिबन्ध लागेको छ । त्यस्तै आरटीआर २०० फोर भीको पनि आयात रोकिएको हो । अब टीभीएसँग स्कुटरहरु र रेडर १२५ जस्ता चल्तीका मोडल आयात हुनेछन् ।

होन्डाको पनि अधिकांश मोटरसाइकलको आयात रोकिएको छ । होन्डाले विक्री गर्ने एक्सब्लेड, हर्नेट जस्ता मोडलको आयात हुनेछैन । होन्डाले स्कुटर र मोटरसाइकलमा साइन र यूनिकर्न १५० जस्ता मोडल भने नेपाल ल्याउने छ ।

त्यस्तै हिरोले विक्री गर्ने सर्वाधिक सफल मोडल एक्सपल्स सिरिज तत्कालको लागि आयात बन्द भएको छ । सरकारले आयात प्रतिबन्ध लगाएकै कारण एक्स्ट्रीम २०० र एक्स्ट्रीम १६० आर नेपाल आउने छैन । हिरोले स्प्लेन्डर सिरिज, ग्ल्यामर, हंक, एचिभर, विभिन्न स्कुटरहरु भने आयात गर्न पाउने छ ।

सुजुकीको आधिकारीक विक्रेता भिजी सुजुकीले विक्री गर्ने जिक्सर सिरिजको आयात पनि रोकिएको छ । अब सुजुकीसँग हायाते मोटरसाइकल र अन्य स्कुटर आयात गर्न पाउने छ ।

यी ब्राण्डका अलावा क्रसफायर, टेकन, सिएफ मोटो, केटीएम, हस्कभर्ना, बेनेली लगायात ब्राण्डका अधिकांश मोडलको आयात प्रतिबन्धमा परेको छ । त्यस्तै १५० सीसी माथिका स्कुटर विक्री गर्ने कम्पनीहरुको आयात पनि रोकिएको छ ।


Back_to_top