काठमाडौं । विद्युतीय सवारीको लागि तुलनात्मक रुपमा कर्जा पनि सहज पाइने र मूल्य पनि कम्बस्चनको तुलनामा कम भएका कारण धेरै मानिसको आकर्षण ईभीमा देखिएको छ ।
अहिले नेपाल सरकारले १०० किलोवाट क्षमताको पीकपावर भएका ईभीमा १० प्रतिशत मात्रै भन्सार कर लगाएको कारण तुलनात्मक रुपमा कम पावर भएका ईभीको बजार बढिरहेको छ ।
सन् २०१८ देखि निरन्तर बजारमा उपलब्ध हुन्डाई कोना यो सेग्मेन्टमा सर्वाधिक विक्री भएको मोडल हो । यसअघि १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध बीवाइडी एटो-३ अब भने १०० किलोवाटको मोटरमा पनि आउने भएपछि यसको सिधा प्रतिस्पर्धा कोनासँग हुने भएको छ ।
हुन्डाई कोना र बीवाइडी एटो-३ मा समान पावरको मोटर र उस्तै मूल्य भएको कारण ब्राण्ड, डिजाइन र अन्य फिचर हेरेर ग्राहकले गाडी छनोट गर्न सक्नेछन् ।
नेपाल हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि रहेको छ भने बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक प्रालि हो । भोलिका दिनमा यी दुई बीचको प्रतिस्पर्धा कस्तो हुन्छ, त्यो थाहापाउन भने केही समय कुर्नु पर्ने हुन्छ ।
साइज
साइजको कुरा गर्दा बीवाइडी एटो-३ को लम्बाई ४४५५ एमएम छ भने, हुन्डाई कोनाको लम्बाई ४१८० एमएम छ । एटो-३को चौडाई १८७५ एमएम र उचाई १६१५ एमएम छ । कोनाको चौडाई भने १८०० एमएम र उचाई १५७० एमएम छ । कोनाको ह्वील वेस २६०० एमएम र एटो-३को ह्वील वेस २७२० एमएम छ ।

मोटर र पावर
दुबै कारमा समान किसिमको मोटर दिइएको छ । हुन्डाई कोना र एटो-३ दुबैमा १०० किलोवाटको मोटर जडान भएको छ । दुबैको पावर समान १३६ हर्स पावर हो । तर, टर्कमा कोना केहि अगाडि छ । कोनाले ३९५ एनएम टर्क प्रदान गर्छ भने एटो-३ ले ३१० एनएम टर्क प्रदान गर्छ ।
ब्याट्री र चार्ज हुने समय
बीवाइडी एटो-३ मा ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग भएको छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर रेञ्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई ७ किलोवाट क्षमताको चार्जरबाट ८ घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
हुन्डाई कोनामा ३९.२ किलोवाटको ब्याट्री पाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ३२० किलोमिटर गुडाउन सकिन्छ । यसलाई पनि ७ किलाेवाटको चार्जरबाट चार्ज गर्दा ६ घन्टा १० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । दुबै कारले डिसी फास्ट चार्जर सपोर्ट गर्न सक्छन् ।

सुरक्षालगायतका फिचर
हुन्डाई कोनामा एबीएस, सेन्ट्रल लक, पावर डोरलक, चाइल्ड सेफ्टी लक, एन्टी थेप्ट आर्लम, ६ वटा एयरव्याग, साईड एयरव्याग, डे-नाइट रियरभ्यू मिरर, प्यासेन्जर साइड रियर भ्यू मिरर, सिटबेल्ट वार्निङ, डोर जार वार्निङ, साइड इम्प्याक्ट बीम दिइएको छ ।
त्यसैगरी, फ्रन्ट इम्प्याक्ट बीम, टायर प्रेसर मोनिटर, इन्जिन इमोबिलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ, इबीडी, इलेक्ट्रोनिक स्टाविलिटी कन्ट्रोल, हाई स्पीड अलर्ट, हिल एसिस्ट, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक जस्ता फिचर उपलब्ध रहेको छ ।
बीवाइडी एटो-३ मा सुरक्षाको लागि अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक, ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ सिस्टम, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट लगायतका फिचर छन् ।
मूल्य
हुन्डाई कोना नेपालमा ३ भेरियन्टमा उपलब्ध रहेको छ । यसको सनरुफ नभएको मोडलको मूल्य ६० लाख ९६ हजार, जीएल भेरियन्टको ६१ लाख ९६ हजार र टप भेरियन्टको मूल्य ६४ लाख ५६ हजार रहेको छ ।
बीवाइडी एटो-३ को १०० किलोवाट भर्सन पनि एउटा मात्रै भेरियन्टमा उपलब्ध भएको छ । यसको मूल्य ६४ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

