काठमाडौं । कोरोना महामारीका कारण खस्किएको भारतीय अटोमोटिभ उद्योग सन् २०२२ मा पुनः बलियो बनेको थियो । यही कारण भारतीय आर्थिक वर्ष २०२३ (अप्रिल २०२३ बाट मार्च २०२४) मा अटाेमाेवाइल बिक्रीकाे तथ्याङ्क थप सुधार हुने देखिएकाे छ ।
यस आर्थिक वर्षकाे सुरूवातमा हुन्डाई मोटर इन्डिया, टाटा मोटर्स र किया इन्डियाले सर्वाधिक बिक्री रेकर्ड बनाएका छन् । तर विज्ञहरूले भने टाटाले दोस्रो स्थानबाट हुन्डाईलाई पछाडि पार्छ कि पर्दैन भन्ने कुरामा कम्पनीको बिक्रीको संख्यालाई नजिकबाट नियाल्दै आएका छन् ।
आर्थिक वर्ष २०२२ मा, मारुती सुजुकी इन्डियाले १६ लाख यूनिट सवारी साधन बिक्री गर्दै शीर्ष स्थान बनाएको छ । यसमा दोस्रो स्थान भने हुन्डाई मोटर इन्डिया र टाटा मोटर्स बीच कुन कम्पनीले लिने भन्नेमा लामो समयबाट टक्कर नै चल्दै आएको छ ।
आर्थिक वर्ष २०२२ को सार्वजनिक एक रिपोर्ट अनुसार हुन्डाईले कुल ४ लाख ८० हजार यूनिट सवारी बिक्री गरेको थियो भने टाटा मोटर्सले ३ लाख ७० हजार यूनिट बेचेको थियो ।

यद्यपि, चालु वर्ष २०२३ मा आएर यी दुई कम्पनीको बिक्री सङ्ख्या झन्डै समान रहेको पाउन सकिन्छ । यो अवधिमा हुन्डाईले मासिक रूपमा ३० हजार युनिट देखि ५० हजार यूनिटको बीचमा विक्री गर्दा टाटाले निरन्तर रूपमा ४० हजार यूनिट बढी प्रत्येक महिनामा विक्री गरेको जनाएको छ ।
कम्पनीको यो स्थिर बिक्रि आंकडाले टाटा मोटर्स यो आर्थिक वर्षमा ५ लाख ३८ हजार यूनिट बेच्ने अनुमान रहेकाे छ । जुन अघिल्लाे वर्षकाे वार्षिक बिक्रीमा ४५ प्रतिशत वृद्धि हुनेछ ।
पछिल्लो समयमा एसयूभीको माग बढ्दो छ । यसमा यी दुबै कम्पनीका दुईवटा सर्वाधिक रुचाइएका मोडल रहेका छन् । हुन्डाईका लागि क्रेटा र भेन्यू उत्कृष्ट माेडल हाे भने टाटाका लागि नेक्सन र पंच रहेको छ । यी दुई प्रतिद्वन्द्वीका यी चार उत्पादनहरू मासिक रुपमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेइकल रहेका छन् ।

कुल ८.५ लाख यूनिटको उत्पादन क्षमता भएको हुण्डाई भारतको दोस्रो नम्बरको निर्यातकर्ता पनि रहेको छ । तुलनात्मक रूपमा हेर्ने हो भने, टाटा मोटर्सले अन्य देशहरुमा धेरै कम निर्यात गर्दछ जसले यसलाई घरेलु बजारमा बढी ध्यान केन्द्रित गर्न आवश्यक देखिन्छ ।
टाटा मोटर्सले हाल एक वर्षमा ६ लाख युनिट सवारी उत्पादन क्षमता रहेको छ । यसमा कम्पनीले फोर्डको सानन्द प्लान्ट सञ्चालनमा ल्याएपछि वार्षिक रुपमा थप ३ लाख युनिट सवारी उत्पदन सङ्ख्या थप हुनेछ ।

समग्रमा, माथिका तथ्यांकलाई हेर्ने हो भने, हुन्डाईले दोस्रो स्थान हासिल गर्न कुनै कसर नछोडेको देखिन्छ । किनकि कम्पनीले यो वर्षका लागि ६ नयाँ मोडल तयार गरेको छ । जसअन्तर्गत, दुई वटा एसयूभी मोडल, एउटा ह्याचब्याक मोडल, दुई वटा सेडान र एक ईभी मोडल रहेका छन् ।
कम्पनीले यो वर्षका लागि फेसलिफ्टेड क्रेटा, इन्ट्री लेभल माईक्रो एसयूभी, फेसलिफ्टेड ग्राण्ड आइ १० नियोस,फेसलिफ्टेड औरा, नेक्स्ट जेनेरेसन भर्ना र आयोनिक फाइभ ईभी बजारमा ल्याउने योजना बनाएको हो ।

त्यस्तै, टाटा मोटर्सले भने विद्युतीय सवारीमा नेक्सन, टिगोर र टियायो ईभी विक्री गर्दै आएको छ । कम्पनीले यो वर्षको अन्त्यसम्म पन्च इभी, फेसलिफ्टेड ह्यारियर र सफारी एसयूभीलाई लाइन अपमा राखेको छ ।

