दशैंमा ढुक्कसँग घर जान हुन्डाईको ‘हाइवे एस्योरेन्स’, ९ स्थानमा निःशुल्क सेवा

काठमाडौं । हुन्डाई गाडी प्रयोगकर्ताले यस वर्षको दशैंमा लामो दूरीको यात्रा सुरक्षित र सहज बनाउन निःशुल्क सवारीसाधन जाँच तथा आवश्यक लुब्रिकेन्ट र कुलेन्ट टपअप सुविधा पाउने भएका छन् ।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं लक्षित ‘हाइवे एस्योरेन्स’ कार्यक्रम अन्तर्गत देशका विभिन्न ९ स्थानमा चेकपोइन्ट संचालन गर्ने भएको हो ।

हुन्डाईको ‘ड्राइभ होम विथ कन्फिडेन्स’ नारासहित संचालन हुन लागेको यो कार्यक्रम २०८३ साल असोज २८ देखि ३१ गतेसम्म अर्थात् अक्टोबर १४ देखि १७, २०२६ सम्म संचालन हुनेछ । उक्त अवधिमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्राहकले सेवा लिन सक्नेछन् ।

२६ प्वाइन्टमा निःशुल्क गाडी जाँच

कार्यक्रम अन्तर्गत हुन्डाईका ग्राहकले २६ प्वाइन्टहरूमा निःशुल्क सवारीसाधन चेकअप गराउन सक्नेछन् । यसका साथै आवश्यकता अनुसार लुब्रिकेन्ट र कुलेन्ट टपअप सुविधा पनि निःशुल्क उपलब्ध हुनेछ ।

दशैंमा धेरै मानिस निजी सवारी साधनमार्फत लामो दूरीको यात्रा गर्ने भएकाले यात्राअघि गाडीको अवस्था जाँच गर्न यस्तो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।

विशेषगरी इन्जिन, कुलिङ प्रणाली लगायतका महत्वपूर्ण भागको अवस्था जाँच गराउँदा यात्राका क्रममा आउन सक्ने सम्भावित समस्या कम हुने कम्पनीको भनाइ छ ।

ईभीका लागि चार्जिङ सुविधा

हुन्डाईले पेट्रोलियम इन्धनबाट चल्ने गाडीका साथै विद्युतीय गाडी (ईभी) प्रयोगकर्तालाई समेत लक्षित गर्दै तोकिएका चेकपोइन्टमा ईभी चार्जिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

यसले दशैंमा लामो दूरीको यात्रा गर्ने हुन्डाई ईभी प्रयोगकर्तालाई पनि सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

हुन्डाईका नेपालका अनुसार बिर्तामोडको एलायन्स मोटर्स, जनकपुरको ड्यानियल अटो वक्र्स, हेटौंडाको हेटौंडा ह्वील्स र चितवनको भरतपुरमा रहेको पिनाकल सर्भिस सेन्टरमा निःशुल्क चेकअप सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी बुटवलको सिद्धि विनायक मोटोकर्प, बाँकेको हिम इन्टरकन्टिनेन्टल, इच्छाकामनामा रहेको एलआईआई कार केयर, तनहुँको एलआईआई कार केयर, डुम्रे र इटहरीको ओम तिरुपतिमा सेवा लिन सकिनेछ ।


Back_to_top