काठमाडौं । सरकारले पुराना इन्जिन गाडीलाई ३ वर्ष भित्र विद्युतीय सवारी साधनमा कन्भर्ट गर्न पाइने व्यवस्था गरेको छ ।
मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हाल कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारीधनीले अनुमति नलिई सवारीको कुुनै पनि रङ, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न पाइँदैन । मन्त्रिपरिषद्ले उक्त बाधा अडाकाउ फुकाउँदै इन्जिन गाडीलाई ईभीमा कन्भर्ट गर्न सक्ने व्यवस्था गरेको हो ।
‘इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा ३ वर्षसम्मको लागि इन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने,’ मंसिर २ गतेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
ऐनको दफा ३९ उपदफा १ अनुसार सवारीधनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सिट, संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गरी सवारीमा हेरफेर गर्न नहुने व्यवस्था छ ।
सोही ऐनको दफा १७७ मा उक्त ऐनको कार्यान्वयन गर्दा कुनै बाधा अडकाउ परेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी त्यस्ता बाधा अड्काउ हडाउन सक्ने व्यवस्था छ । सरकारले अहिले ऐनको दफा १७७ प्रयोग गर्दै ३ वर्षसम्मका लागि बाधा अड्काउ फुकाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख (सहसचिव) कृष्णराज पन्थले सरकारले यातायात व्यवस्था ऐनमा रहेको बाधा अडाकाउ फुकाउँदै पुराना गाडीलाई ईभीमा कन्भर्ट गर्न सक्ने व्यवस्था गरेको बताए ।
‘ऐनको दफा ३९ अनुसार सवारी साधनको कुनै पनि गर्न पाइँदैन । तर, सोही ऐनको दफा १७७ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी निश्चित अवधिसम्म उक्त व्यवस्था खारेज गर्ने निर्णण गर्न सक्छ,’ उनले मेरोअटोसँग भने, ‘अहिले सोही व्यवस्था ३ वर्षसम्मलाई खारेज गरिएको हो । यसको मतलब अब कुनै पनि डिजेल/पेट्रोल इन्जिनवाला सवारी साधन ३ वर्षसम्म ईभीमा कन्भर्ट गर्न पाइन्छ । अनुमति लिइराख्नु पर्दैन ।’
३ वर्षपछि भने पुरानै व्यवस्था कायम हुने उनले बताए । यद्यपि, ३ वर्षभित्रै नयाँ ऐन आएमा भने यस व्यवस्थाले निरन्तरता पाउने उनले बताए । उनले नयाँ ऐनको मस्यौदा इन्धनलाई गाडीलाई ईभीमा परिवर्तन गर्न पाउने प्रावधान राखिएको उनले बताए ।

