काठमाडौं । रोयल इनफिल्ड मेटियरको नयाँ भर्सन नेपालमा भोलि (कात्तिक २७ गते) सार्वजनिक हुने भएको छ ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले मेटियर ३५० मोटरसाइकलको नयाँ २०२५ भर्सन भोलिदेखि बिक्री गर्ने भएको हो ।
रोयल इनफिल्डले लामो समयदेखि नेपालमै मोटरसाइकल एसेम्बल गरी बिक्री गर्दै आइरहेको छ । भारतमा बनेको मेटियर २०२५ भर्सन पनि नेपालमै एसेम्बल गरेर कम्पनीले बजारमा ल्याउन लागेको हो ।
भारतीय बजारमा भने यो मोटरसाइकल दुई महिना अघि नै सार्वजनिक भइसकेको हो । जे-सिरिज प्लेटफर्ममा निर्माण भएको मेटियर मोटरसाइकलमा ३४९ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर र आयल कुल्ड, एफआई इन्जिन छ । यस इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।
साथै, मोटरसाइकलमा एलईडी हेडल्याम्प, एलईडी लाइट, एलईडी टर्न इन्डिकेटर्स, डीआरएल र डिजिटल एनालग ट्रिपर पोड एलसीडी ड्यासबोर्ड रहेको छ ।
त्यस्तै, यसमा टाइप सी यूएसबी फास्ट चार्जिङ पोर्ट, असिस्ट एण्ड स्लीप क्लच, एड्जस्टेबल लिबर, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा प्रिलोड एड्जस्टेवल ट्वीन सक अब्जर्बार रहेको छ ।
हाल नेपालमा पुरानो मेटियर ३५० को सुरूवाती मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ तोकेर कम्पनीले बिक्री गरिरहेको छ । यसको नयाँ २०२५ भर्सनको मूल्य यो भन्दा २०/३० हजार रुपैयाँ मात्रै बढ्ने अनुमान गर्न सकिन्छ ।
भारतीय बजारमा नयाँ भर्सन मेटियर ३५० को सुरूवाती मूल्य १ लाख ९५ हजार ७६२ भारु रहेको छ । यो छुट्टाछुट्टै पाँच कलर अप्सनमा उपलब्ध छ ।

