काठमाडौं । चीनसँगको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी पूर्णरुपमा संचानमा आएसँगै कोरला नाका सुस्ताउन थालेको छ ।
यसअघि तातोपानी र रसुवागढीको विकल्पमा व्यस्त बनेको कोरोला नाकाबाट आयात न्यून हुन थालेको हो । यस वर्ष दशैंतिहार जस्ता चाडवाडका लागि यही नाका हुँदै उपभोग्य सामान र विद्युतीय सवारी ल्याइएको थियो ।
गत असार २४ गतेदेखि बन्द रहेको रसुवागढी नाका पुस १७ गतेदेखि संचालनमा आएको छ । तातोपानी भने कात्तिकदेखि नै संचालनमा थियो । अहिले चीनबाट ल्याउने सामान यी दुवै नाकाबाट आउन थालेकाले कोरालो नाकाबाट हुने आयात-निर्यात न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।साथै, चिसो बढेका कारणले पनि आयात निर्यात असहज बन्न पुगेको हो ।
कार्यालयका अनुसार पछिल्लो एक साता यता कोरलाबाट सामान आयात अति न्यून भएको छ । कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५/२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा हाल सामान आउन छाडेको छ ।
उनले यसअघि कोरला नाकाबाट नेपाल भित्रिएका ८/१० वटा मालवाहक कन्टेनर मात्रै जाँचपासका लागि ‘पेन्डिङ’मा रहेको बताए । उनले यी बाहेक थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ ।
‘यसअघि तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५-२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुन्थ्यो । अहिले पूरै घटिसक्यो । कन्टेनर आउन छाडेका छन्,’ उनले भने ।
कोरलाबाट आयात-निर्यात कारोबार घटेपछि भन्सार कार्यालयका चहलपहल घटेको छ । कर्मचारी फुर्सदिला भएका छन् । व्यापारी, चिनियाँ भन्सारबाट मालवाहक कन्टेनर र विद्युतीय सवारी चलाएर ल्याउने स्थानीय युवाहरू पनि जाडो छल्न बेँसी झरेका छन् । कोरला नाका समुद्री सतहबाट ४ हजार ६१० मिटर उचाइमा छ ।
सवा ११ अर्बको व्यापार
साढे ३ महिनाको अवधिमा कोरला नाकाबाट सवा ११ अर्ब बढीको व्यापार भएको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा संचालनमा आएको कोरलानाकाबाट हालसम्म ११ अर्ब बढीको सामान भित्रिएको र १९ करोड रुपैयाँ बराबरको नेपाली सामान चीनतर्फ निर्यात भएको उनले बताए ।
सवा ११ अर्बको मालवस्तु आयात-निर्यात हुँदा साढे ५ अर्ब रुपैयाँ बढी राजस्व संकलन भइसकेको कार्यालयले जनाएको छ ।
कोरला नाकाबाट लत्ताकपडा, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, फलफूल, ओखर, विभिन्न घरायसी सामान, विद्युतीय सवारी लगायत सामन भित्रिएको हुन् । हालसम्म कोरला नाकाबाट २ हजार १०० बढी विद्युतीय कार नेपाल भित्रिएको कार्यालयको तथ्यांक छ ।
‘आयात निर्यात शून्य नै हुँदैन’
तातोपानी र रसुवागढी नाका खुले पनि कोरलाबाट भन्सार कार्यालयबाट प्रतिकूल मौसमबाहेक अन्य समयमा आयात-निर्यात कारोबार शून्य नहुने सूचना अधिकारी सिंहको दाबी छ ।
‘रसुवागढी र तातोपानी नाका बन्द हुँदाजस्तो आयात-निर्यात त नहोला, तर कतिपय व्यापारीका लागि यहाँको कोरलानाकाबाटै आयातनिर्यात गर्न सहज हुन्छ । यसैले विगतका वर्षजस्तो यहाँको भन्सार ठप्प भन्ने हुँदैन,’ उनले भने ।

