काठमाडौं । देशका विभिन्न स्थानमा रहेका विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन मध्ये ५४ वटा अनसपयुक्त स्थानमा रहेको पाइएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयले तयार पारेको मास्टर प्लान अफ ईभी चार्जिङ स्टेशनमा यस्तो उल्लेख गरिएको हो ।
कर्णाली बाहेकका अरु सबै प्रदेशमा रहेका ५४ चार्जिङ स्टेशन अनुपयुक्त ठाउँमा रहेका हुन् । गुरु योजनामा उल्लेख गरिए अनुसार कोशीका १४ स्थान, मधेशका ७, बागमतीका १०, गण्डकीका ८, लुम्बिनीका १० र सुदूरपश्चिमका ५ स्थानका चार्जिङ स्टेशन अनुपयुक्त स्थानमा रहेका हुन् ।
ताप्लेजुङको फुङलिङ, झापाको काकँडभिट्टा र धुलाबारी, खोटाङको दिक्तेल र महादेव स्थान, इलामको बारबोटे र देउराली डाँडा, मोरङको विराटचोक, सुनसरीको धरानमा रहेको चार्जिङ स्टेशन अनुपयुक्त स्थानमा रहेका हुन् ।
त्यस्तै, मधेश प्रदेशको सर्लाहीको नयाँरोड, शिवसागर, चोक, मलंगवा, धनुषाको सखुवा, महेन्द्रनगर, जनकपुर, सप्तरीको भारदह, रौतहटको गौर, पर्साको वीरगञ्जमा रहेको चार्जिङ स्टेशन अनुपयुक्त देखिएको हो ।
त्यसैगरी, बागमती प्रदेशका नुवाकोटको रातमाटे, विदुर, कलंकी, काभ्रेपलाञ्चोकको पनौती, धुलीखेल, भकुन्डेबेँसी, सिन्धुलीको भिमान र चैनपुर , रसुवाको स्याफ्रुबेँसीको चार्जिङ स्टेशन अनुपयुक्त स्थानमा रहेका हुन् ।
गण्डकीका गोरखाको लक्ष्मीबजार, स्याङ्जाको वालिङ, पुतलीबजार, कास्कीको बढारे, आदर्शचोक, पर्वतको कुश्मा र बागलुङको बागलुङ बजारमा रहेको चार्जिङ स्टेशन अनुपयुक्त छन् । त्यस्तै, अन्य प्रदेशका विभिन्न स्थानका रहेका डेढ दर्जन बढी चार्जिङ स्टेशन उपयुक्त स्थानमा छैनन् ।
अपर्याप्त स्थान, सडकबाट चार्जिङ स्टेशनसम्म सहज पहुँच नभएको, मन्दिर, फुटबल ग्राउण्ड, वनक्षेत्र जस्ता स्थानमा रहेको लगायत कारणले अनुपयुक्त देखिएका हुन् । ती चार्जिङ स्थानहरुलाई उपयुक्त अन्य ठाउँमा सार्न सुझाव समेत दिइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशभर १ हजार ५०० बढी चार्जिङ स्टेशन छन् ।

