काठमाडौं । नेपालको पेट्रोलियम पदार्थको भण्डारण क्षमतामा सुधार देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ले यस्तो देखाएको हो ।
सर्वेक्षण अनुसार हाल देशभर इनधन भण्डारण क्षमता १ लाख २ हजार २८१ किलोलिटर पुगेको छ । जसमा डिजेल कुल ६० हजार ४२१ किलोलिटर भण्डारण क्षमता छ । जसले १६ दिनको माग धान्न सक्छ ।
त्यस्तै, पेट्रोल भण्डारण क्षमता २८ हजार ५४२ किलोलिटर रहेको छ । जसले देशभरीको १४ दिनको माग धान्न सक्छ ।
मट्टीतेलको भण्डार क्षमता ४ हजार १९५ किलोलिटर छ । जसले १४५ दिनको माग धान सक्ने रहेको छ । त्यस्तै, हवाई इन्धन (एटीएफ) भण्डार क्षमता ९ हजार १२३ किलोलिटर छ । जसले १७ दिनको माग धान्न पर्याप्त छ ।

२०८१ फागुनसम्म एलपी ग्यास बाहेक पेट्रोल, डिजेल, मट्टितेल र एटीएफको भण्डारण क्षमता १ लाख २ हजार १६४ किलोलिटर थियो । डिजल र हवाई इन्धनको १२, पेट्रोलको १३, मट्टीतेलको ५६ दिनको खपत धान्न सक्ने भण्डारण क्षमता थियो ।
२०८२ असारसम्म गण्डकी प्रदेशमा सबैभन्दा बढी ३७ दिनको माग धान्न सक्ने र कर्णाली प्रदेशमा सबैभन्दा कम १ दिनको माग धान्न सक्ने मौज्दात क्षमता रहेको छ ।
पेट्रोल, डिजेल, मट्टितेल र हवाई ईन्धनको भण्डारण मधेश प्रदेशको अमलेखगञ्ज डिपोमा मात्र कुल क्षमताको ४३.५ प्रतिशत रहेको छ । काठमाडौंमा भण्डारण क्षमता २१.९ प्रतिशत, पोखरामा १३.३ प्रतिशत, विराटनगरमा ९.९ प्रतिशत, भैरहवामा ४.१ प्रतिशत, नेपालगञ्जमा ३.६ प्रतिशत र धनगढीमा २.६ प्रतिशत रहेको छ ।

दाङ, सिमरा, भद्रपुर, मन्थली, दिपालय लगायतका स्थानमा यस्तो भण्डारण न्यून रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ३७ दिन र कर्णालीमा १ दिनको माग धान्न सक्ने भण्डार क्षमता छ ।


