भारतमा टाटा, महिन्द्रा र हुन्डाई बीच कडा प्रतिस्पर्धा, सुजुकीको ‘ग्रोथ’ २० प्रतिशत

काठमाडौं । भारतमा कार उत्पादन गर्ने कम्पनीहरुले आफ्नो नोभेम्बर महिनाको होलसेल बिक्री तथ्यांक सार्वजनिक गर्दैछन् । अहिलेसम्म सार्वजनिक भएको तथ्यांक अनुसार टाटा, महिन्द्रा र हुन्डाई बीच दोस्रो बन्न कडा प्रतिस्पर्धा चलिरहेको छ ।

नोभेम्बरमा १ लाख ७० हजार ९७१ युनिट कार बिक्री गर्दै मारुती सुजुकी सबैभन्दा अगाडि छ । मारुती सुजुकीले अर्को धेरै बिक्री गर्ने ब्राण्डको तुलनामा तीन गुणा बढी कार बिक्री गरेको देखिन्छ । मारुतीले नोभेम्बरमा ४६ हजार ५७ युनिट कार भारतबाट निर्यात गरेको छ ।

भारतको स्थानिय बजारमा होलसेल बिक्रीलाई आधार मान्दा दोस्रो स्थानमा टाटा देखिन्छ । टाटाले ५७ हजार ४३६ युनिट कार बिक्री गरेको छ । तर, उसको निर्यात भने १ हजार ७६३ युनिट छ । जुन कम्पनीको अहिलेसम्मकै एक महिनामा भएको ठूलो निर्यात हो ।

तेस्रो स्थानमा महिन्द्रा परेको छ । महिन्द्राले कुल ५६ हजार ३३६ युनिट कार बिक्री गरेको छ । उसको निर्यात २ हजार ९२३ युनिट छ ।

भारतमा होलसेल बिक्रीको आधारमा हुन्डाई चौथो स्थानमा छ । कम्पनीले नोभेम्बर महिनामा ५० हजार ३४० युनिट कार बिक्री गरेको हो । उसको निर्यात भने धेरै छ । कम्पनीले गत महिना १६ हजार ५०० युनिट कार निर्यात गरेको जनाएको छ ।

सूचीको पाँचौ स्थानमा टोयोटा छ । उसले ३० हजार ८३ युनिट कार भारतमा बेच्दा ३ हजार ५०० युनिट निर्यात गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

कियाले पनि आफ्नो बिक्री बढाएको छ । उसले गत महिना २५ हजार ४९८ युनिट कार भारतमा बिक्री गर्न सफल भएको हो ।


Back_to_top