काठमाडौं । चिनियाँ कारको तुलनामा महंगो मूल्य रहँदै आएको भारतमा निर्मित विद्युतीय कार अब सस्तो हुने भएको छ । भारत सरकारकाे सन् २०२५/२६ को बजेट प्रस्तुत गर्दै वित्तमन्त्री निर्मला सीतारमण ब्याट्रीमा लगाउँदै आएको कर घटाउने घोषणा गरेकी हुन् ।
‘पहिलाको तुलनमा विद्युतीय सवारीसाधन सस्तो हुनेछन् । लिथियम आयोन ब्याट्रीमा लाग्दै आएको कर कम गरिने छ’, नयाँ बजेटमा भनिएको छ ।
यसअघि भारत सरकारले ब्याट्री उत्पादनमा प्रयोग हुने कोबाल्ट, ब्याट्री केस, लिड, जिंक लगायतका १२ बस्तुमा लगाउँदै आएको कर हटाउने घोषणा गरिएको छ । यसरी हटाइएको करको फाइदा उपभोक्ता र गाडी उत्पादकलाई हुनेछ । यसले ईभीको मूल्य कम हुनगइ विद्युतीय गाडीको प्रयोग बढाउन सहयोग पुग्नेछ ।
यति मात्रै होइन विद्युतीय गाडी बनाउन भारत बाहिरबाट आयात गरिने ३५ बस्तुमा लगाउँदै आएको कर हटाउने घोषणा बजेटले गरेको छ । साथै, न्यू इनर्जी भेहिकल उत्पादनमा काम गर्दै आएका स्टार्टअप कम्पनीको लागि दिइने कर्जाको सिमा १० करोडबाट बढाएर २० करोड बनाइएको छ । यसले समग्र अटोमोवाइल क्षेत्रको विकास र बिस्तारमा सहयोग पुग्नेछ ।
भारतबाट नेपालमा बिक्रीको लागि उपलब्ध हुने कारको मूल्य तुलनात्मक रुपमा महंगो रहँदै आएको थियो । भारतमा नै मूल्य कम हुने भएसँगै नेपालमा पनि त्यहाँ उत्पादन भएर आउने कारहरु प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुनेछन् ।

