‘ग्यालेक्सी ई-५’को उत्पादन एक लाख पुरा, नेपालमा छुट्टै नामबाट बिक्री सुरु हुँदै

काठमाडौं । नेपाली बजारमा छिटै बिक्री सुरु हुन लागेको प्रोटोनको इमास–७ को पहिलो उत्पादन जिलीको ग्यालेक्सी ई-५ नामबाट भएको हो । बजारमा आएको छोटो समयमा नै ई-५ को बिक्री एक लाख युनिट पुरा भएको हो ।

सन् २०२४ को अगस्टबाट बजारमा आएको ई-५ ले केबल पाँच महिनामै आफ्नो उत्पादन एक लाख युनिट पुरा गरेको हो । चिनियाँ अटोमोवाइल कम्पनी जिलीको ५१ प्रतिशत हिस्सेदारी रहेको प्रोटोन ब्राण्डमा नाम नै परिवर्तन भएर नेपालमा बिक्री सुरु हुन लागेको हो ।

जगदम्बा मोटर्सले नेपालमा बिक्री सुरु गर्ने प्रोटोन इमास-७ आफ्नो साइज, पर्फर्मेन्स र लुक्सको कारण चर्चित बन्दै गएको हो । चीनमा यसको सिधा प्रतिस्पर्धा बीवाइडी एटो-३ सँग हुँदै आएको छ ।

चिनियाँ बजारमा उत्पादन भइरहेको ग्यालेक्सी ई-५ नै राइट ह्याण्ड ड्राइभ देशहरुमा प्रोटोनको व्याजमा इमास-७ नामबाट बिक्री हुनेछ ।

ग्यालेक्सी ई-५ (प्रोटोन इमास-७)को लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम, उचाइ १६७० एमएम र ह्वीलवेस २७५० एमएम लामो छ । जिली ग्रुपको ‘जीइइए ३.० आर्किटेक्चर’मा बनेको यो ईभीमा हाइस्पीड ओटीए अपडेट फिचर रहेको छ ।

नेपालमा बिक्री सुरु हुन लागेको मोडल

जिली ग्यालेक्सी ई-५ मा ७९.८ केजी तौल भएको ११ इन १ इन्टेलिजेन्ट इलेक्ट्रीक ड्राइभ सिस्टम छ । यसको इफिसीयन्सी ९०.०४ प्रतिशत छ । यो ईभीमा १६० किलोवाटको मोटर छ । उक्त मोटरले २१५ हर्सपावर र ३२० न्यूटन मिटर टर्क दिन्छ । यो ईभीले ६.९ सेकेण्डमै शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेटाउनेछ । यसको टप स्पीड क्षमता १८० किलोमिटर प्रतिघण्ट छ ।

जिलीले ई-५ ईभीमा नयाँ जेनेरेशन एजिज लिथियम आयोन फोस्फेट ब्याट्री दिएको छ । दुई ब्याट्री अप्सन ४९.५२ किलोवाट आवर र ६०.२२ किलोवाट आवरमा आउने गाडी उपभोक्ताले छनोट गर्न सक्नेछन् ।

नेपालमा बिक्री हुने प्रोटोन इमास-७ को स्पेक पनि ग्यालेक्सी ई-५ कै समान छ । जगदम्बा मोटर्सले बिक्री मूल्य नतोकेपनि भन्सारबाट गाडी छुटाउने प्रयोजनको लागि भने सानो ब्याट्री भएको भर्सनको मूल्य ५८ लाख ९० हजार र ठूलो ब्याट्री भएको भर्सनको मूल्य ६८ लाख ९० हजार तोकेको छ । बिक्री सुरु हुँदा मूल्य पक हुन सक्नेछ ।


Back_to_top