काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक चांगानको प्रिमियम ब्राण्ड नेभोको ‘क्यू ०५’ एसयूभी चाँडै नेपाली बजारमा प्रवेश गर्ने भएको छ ।
नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नेभो क्यू ०५ लाई दीपल ब्राण्ड अन्तर्गत नेपालमा बिक्री गर्ने तयारी थालेको हो ।
चीनमा पछिल्लो ३ महिनायता आफ्नो सेग्मेन्टमा शीर्ष स्थानमा रहँदै आएको उक्त एसयूभी नेपालमा दीपल निभो क्यू ०५ नाममा बिक्री हुनेछ । यो युरोपमा ई ०६ नाममा बिक्री भइरहेको छ ।
सन् २०२६ को पहिलो ६ महिनामा नेभो क्यू ०५ ७१ हजार ६०० युनिट विक्री भइसकेको छ । गत नोभेम्बरमा चीनमा पहिलो पटक सार्वजनिक भएको क्यू ०५ केही महिनामै आफ्नो सेग्मेन्ट लिडर बन्न सकेको हो ।
मूल्य र माथिल्ला कार सेग्मेन्टमा भएका फिचरहरू उपलब्ध भएकै कारणले क्यू०५ को लोकप्रियता बढ्दै गएको हो । नेभो क्यू ०५ एसयूभीले ब्याट्री प्याक अनुसार ४०५ किलोमिटर र ५०६ किलोमिटर सीएलटिसी रेन्ज दिन्छ । यसमा सीएटीएलको ब्याट्री सेल र थ्रीसी फास्ट चार्जिङ प्रविधि प्रयोग गरिएको छ ।
अर्को बलियो पक्ष भनेको स्पेस हो । यसलाई कम्प्याक्ट एसयूभीमा राखिए पनि क्यू०५ को ह्वीलबेस २७३५ एमएम छ । जसले यो एसयूभीलाई स्पेसियस र परिवारमैत्री बनाउँछ । साथै डिजिटल ककपिट, इन्टेलिजेन्स कनेक्टिभिटी, सराउन्ड भ्यु टेक्नोलोजी तथा कम्फर्ट फोकस्ड इन्टेरियर अपिलले पनि ग्राहक तानिरहेको छ ।
यसको डिजाइन अटोमोबाइल जगतका चर्चित व्यक्तित्व क्लाउस जाइसोरियोले गरेका हुन् । जो बिएमडब्लूका पूर्व हेड अफ डिजाइन हुन् । क्यू०५ प्रोपर्सन, सिग्नेचर लाइट र आधुनिक एसयूभी आकृतिले यसलाई बजारमा उपलब्ध कारभन्दा भिन्न देखाउँछ । भर्खरै यो कारले प्रतिष्ठित गोल्ड ए डिजाइन अवार्ड जितेको थियो ।


