अटो शोमा नेपाल आउँदै ८ नयाँ मोडलका मोटरसाइकल र स्कुटर

काठमाडौं । नेपालमा यही साउन र भदौमा आयोजना हुने दुई अटो शोमा करिब १ दर्जन दुईपाँग्रे नयाँ मोडल सार्वजनिक हुने भएका छन् ।

साउन २६ देखि हुने नाइमा मोबिलिटी एक्स्पो र भदौ ९ देखि हुने नाडा अटोशोमा ८ बढी नयाँ मोडलका मोटरसाइकल/स्कुटर सार्वजनिक हुने भएका हुन् ।

हालसम्म प्राप्त जानकारी अनुसार बिक्रेताहरूले अटो शोमा ८ नयाँ मोडलका मोटरसाइकल र स्कुटर सार्वजनिक गर्ने तयारी गरेका छन् । जसमा नेपालमै उत्पादन भएको यात्रीदेखि नयाँ इलेक्ट्रीक ब्राण्ड भिडासम्म इन्ट्री गर्दै छन् ।

अटो शोमार्फत सार्वजनिक हुने प्रमुख मोडलमध्ये यात्री पी २ इलेक्ट्रीक स्कुटर, अल्ट्राभोइलेटको एक्स ४७, हिरोको भिडा, टीभीएस आरटीएक्स ३००, यामाहाको एक्सएसआर १५५, मोर्बिडेली २५० एड्भेन्चर, बजाज चेतक २५०१ र चेतक सी ३५०३ मोडल रहेका छन् । अन्य केही ब्राण्डले पनि अटो शोमा नयाँ मोडल लन्च गर्ने तयारी गरे पनि खुलाएका छैनन् ।

नाइमा मोबिलिटी शोमा नेपालमै डिजाइन तथा निर्माण भएको पहिलो इलेक्ट्रीक स्कुटर यात्री पी२ सावर्वजनिक हुँदै छ । यो स्कुटर सिप्रदी ट्रेडिङ र यात्री मिलेर बनाएका हुन् । इलेक्ट्रीक स्कुटरको माग बढ्दो क्रममा रहेको बेला बजारमा आउने यात्री पी २ अटो शोकै प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ ।

अल्ट्राभोइलेट एक्स ४७ प्रिमियम इलेक्ट्रीक मोटरसाइकलको रूपमा आउने भएको छ । वैद्य ग्रुप अन्तर्गतको वैद्यज् अर्गनाइजेसनले उक्त प्रिमियम मोटरसाइकल नाइमा मोबिलिटी एक्स्पोमा लन्च गर्ने तयारी गरिरहेका छ । साथै, कम्पनीले २५० सीसी सेग्मेन्टमा मोर्बिडेलीको नयाँ एड्भेन्चर मोटरसाइकल पनि सार्वजनिक गर्ने बताइएको छ ।

हिरोको भिडा विद्युतीय दुईपाँग्रे बजारमा नयाँ विकल्पका रूपमा प्रस्तुत हुने भएको छ । हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड भिडाको इलेक्ट्रीक स्कुटर सीजी मोटर्सले ल्याउने भएको हो । यो स्कुटर पनि नाइमामै सार्वजनिक हुने स्म्भावना छ ।

टीभीएसको पहिलो एड्भेन्चर मोटरसाइकल टीभीएस आरटीएक्स ३०० पनि अटो शोमार्फत नै नेपाली बजारमा प्रवेश गर्नेछ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजनले भरिपूर्ण यामाहा एक्सएसआर १५५ पनि लन्च हुनेछ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइडले उक्त मोटरसाइकल नाडा अटोशोमा लन्च गर्ने सम्भावना छ ।

त्यस्तै, नाइमामा बजाज चेतकका दुई नयाँ मोडल २५०१ र ३५०३ पनि लन्च हुने छन् । हाल चेतक ३५०१ बिक्री गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनीले चेतकका थप विकल्प प्रस्तुत गर्ने भएको हो ।

यीबाहेक अन्य धेरै दुईपाँग्रे ब्राण्डहरूले पनि अटो शोमा सहभागिता जनाउने तयारी गरेका छन् । तर, ती कम्पनीहरूले सार्वजनिक गर्ने नयाँ मोडल वा उत्पादनका विषयमा भने अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।

दुवै अटो शोमा विशेषगरी दुईपाँग्रे सवारी साधनतर्फ ग्राहकको धेरै आकर्षण रहने अपेक्षा गरिएको छ । दुई साताको अन्तरालमा दुई ठूला अटो शो छोटो आयोजना हुने भएकाले यस वर्ष बजारमा नयाँ प्रविधि, विद्युतीय सवारी र प्रिमियम मोटरसाइकलको प्रतिस्पर्धा अझ बढ्ने देखिएको छ ।


Back_to_top